काठमाडौं । सरकारले गत आर्थिक बर्षमा विभिन्न संस्थान तथा वैदेशिक सेयरमा गरेको सेयर र ऋण लगानीबापत २० अर्ब ९४ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।
सरकारले गत आबमा लाभांस र ब्याज गरी सो बराबर रकम आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । जसमा लाभांस बापत १७ अर्ब ४२ करोड रुपैयाँ र ब्याज आम्दानीमार्फत ३ अर्ब ५२ करोड रुपैयाँ प्राप्त गरेको हो ।
हालसम्म सरकारले विभिन्न संस्थानमा ४३ अर्ब ३० करोड रुपैयाँ सेयर लगानी गरेको छ भने १२ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै हालसम्म वैदेशिक सेयर लगानीमा भने १६ अर्ब ८१ करोड र रुपैयाँ लगानी भएको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी सरकारले गत आर्थिक बर्षमा आन्तरिक र बाह्य गरी कुल २ खर्ब २१ अर्ब रुपैयाँ ऋण लिएको थियो । जसमा आन्तरिकतर्फ १ खर्ब ४४ अर्ब रुपैयाँ र वैदेशिकतर्फ ७७ अर्ब ५२ करोड रुपैयाँ ऋण लिएको थियो ।
यसैगरी सरकारले आर्थिक बर्ष २०७४÷७५ मा ६३ अर्ब २२ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । जसमा आन्तरिक तर्फ ३७ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्दा १८ अर्ब ५८ करोड रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरेको छ । यस्तै सरकारले गत आबमा वैदेशिक र आन्तरिक ऋणको ब्याज रकमबापत ७ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको छ ।