काठमाडौं । सरकारले प्राथमिकताको पहिलो सूचीमा राखेको निजगढ विमानस्थलको निर्माण ढाँचा टुंगो लगाउने भएको छ ।
केही महिना भित्रै निर्माण ढाँचाको टुंगो लगाएर निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ
आगामी आर्थिक वर्षको बजेटमा सो विमान स्थलको निर्माण प्रक्रिया सुरु गर्ने उल्लेख छ । विमानस्थलका लागि हाल मुआब्जा वितरण र निर्माणस्थल खाली गर्ने कार्य जारी छ । विमानस्थल निर्माण हुने टाँगिया बस्तीमा ६० बिघा जग्गाको मुआब्जा वितरण गरिएको छ । कूल ११० बिघा जग्गामध्ये ५० बिघाको मुआब्जा भने वितरण गर्न बाँकी रहेको छ ।
विमानस्थल निर्माण हुने क्षेत्रको ४ किल्ला मिलाउने तथा रुख कटान गर्न नेपाली सेनालाई परिचालन गरिएको छ । पहिलो चरणमा करीब ८ लाख रुख कटानका लागि वन तथा भू–संरक्षण मन्त्रालयमा सहमतिका लागि पठाइएको छ ।
सो आयोजनाका लागि करीब २४ लाख रुख काट्नुपर्ने देखिएको छ । विमानस्थल आसपास निर्माण हुने शहर लगायतको संरचना निर्माणका लागि सो परिमाणमा रुख काट्नुपर्ने बताइएको छ ।
पर्यटन मन्त्री रवीन्द्र अधिकारीले निर्माण ढाँचा तयार पारेर विमानस्थल निर्माण प्रक्रिया आगामी ६ महिनाभित्र शुरु हुने बताउँदै आएका छन । राष्ट्रियसभाको केही दिन पहिलेको बैठकमा समेत मन्त्री अधिकारीले निजगढ विमानस्थल निर्माण प्रक्रियाले छिट्टै गति लिने बताएको थियो ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको सो परियोजनालाई क्षेत्रीय हब विमानस्थलका रुपमा अगाडि बढाउने लक्ष्य राखेको छ । केही समय पहिले नेपाल र भारतका हवाई अधिकारीको संयुक्त बैठकले ५ वटा हवाई प्रवेश बिन्दु पाउने विषयमा सहमति जनाएको थियो ।
सो सहमतिलगत्तै विमानस्थल निर्माणका लागि समेत सहज वातावरण बनेको छ । हवाई प्रवेश बिन्दुको विषयमा सहमति नहुँदा सम्म विमानस्थलको सम्भाव्यता हुँदैन कि भन्ने आशंका रहेको थियो । वर्तमान सरकार गठन भएलगत्तै मन्त्रालयले योजनाबद्ध रुपमा विमानस्थल निर्माण तथा विस्तारको कामलाई तीव्रता दिएको छ ।
निजगढलाई आर्थिक केन्द्र बनाउने उद्देश्य राखेको सरकारले भारतको राजधानी नयाँ दिल्ली पछिको क्षेत्रीय हबका रुपमा स्थापित गराउने र निर्माण प्रक्रियालाई तीव्र पार्ने योजना अनुसार काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँलाई तराई मधेशसँग जोड्ने द्रुतमार्ग निर्माणको काम सुरु भएको छ । सरकारले नेपाली सेनालाई जिम्मा दिएको सो द्रुतमार्गको काम हाल विभिन्न चरणमा भइरहेको छ । सेनाले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि सम्बद्ध संस्था छनोटका लागि प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
द्रुतमार्ग निर्माण भएसँगै विमानस्थलको महत्व थप बढेर जानेछ । काठमाडौँ र निजगढ विमानस्थलको दूरी एक घण्टामा तय गर्न सकिनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निजगढ विमानस्थल निर्माणका लागि प्रारम्भिक काम सकाउने चरणमा पुगेको जानकारी दिएका छन ।
प्राधिकरणका तर्फबाट गर्नुपर्ने मुआब्जा वितरण र विमानस्थलको ४ किल्ला तय गरेर तारबार गर्ने काम भइरहेको अधिकारीले बताएका छन ।
नदी नियन्त्रण र निर्माण ढाँचाका बारेमा तय भएपछि थप प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
विमानस्थल निर्माण हुने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पार्ने काम भइसकेको छ । रुख कटानका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिन बाँकी छ । मन्त्रालयले आवश्यक प्रस्ताव तयार पारी मन्त्रिपरिषमा पेश गर्ने तयारी गरेको छ ।
सो आयोजनाको कोरियन कम्पनी ल्याण्डमार्क वल्र्डवाइड (एलएमडब्लु) ले सन २०११ मा विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो । कोरियन कम्पनीले विमानस्थल निर्माणका लागि ५ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । विभिन्न क्षेत्रमा भएको मूल्यवृद्धिका कारण हाल भने सो लागत बढेर ७ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
विमानस्थल कुन मोडलबाट निर्माण गर्ने भन्नेबारे निर्णय हुन सकेको छैन । मन्त्री अधिकारीले पटक पटक शीघ्र निर्णय गरिने जानकारी गराउँदै आएका छन । विमानस्थल निर्माणका लागि इन्जिनियरिङ, खरिद, निर्माण र सञ्चालन (इपिसिएफ) ढाँचामा अगाडि बढाउन सकिने प्रस्ताव गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले निजगढ विमानस्थल राष्ट्रिय महत्वको विषय भएकाले सबै पक्षलाई मिलाउनु आवश्यक हुने र यथासक्य निर्णय गरिने जानकारी दिएका छन ।
मन्त्रालयले समग्र पक्षसँग छलफल गरिरहेको र आवश्यक निर्णय गर्ने बताउँदै उनले राष्ट्रिय महत्वको परियोजना भएकाले धेरै पक्षसँग समन्वय गर्नुपर्ने स्पष्ट पारे ।
विमानस्थलका लागि ११ हजार बिघा जग्गा आवश्यक पर्नेछ । स्थानीय टागिया बस्तीका एक हजार ४ सय घर तथा टहरा हटाउनु पर्नेछ ।