Logo

प्रदेश १ को प्राथमिकता पर्यटनमा, भित्रिएला ५ बर्षमा ५ लाख पर्यटक

प्रदेश १ को प्राथमिकता पर्यटनमा, भित्रिएला ५ बर्षमा ५ लाख पर्यटक



काठमाडौं । ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ प्रदेश सरकारले ५ वर्ष भित्रमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

सो कार्यका लागि प्रदेश सरकारले ठूलो रकम खर्च गर्ने भएको छ । प्रदेश सरकाररले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिई निजी क्षेत्रको सहकार्यमा आगामी ५ वर्षभित्रमा ५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।

सरकारको नीति तथा कार्यक्रम अनुरुप पर्यटक आवागमन वृद्धि गर्न फुङलिङ–पाथीभरा, धरान–भेंडेटार, जयरामघाट–हलेसी, बराहक्षेत्र–सूर्यकुण्डमा केवल कार सञ्चालनको सम्भाव्यता अध्ययन समेत गरिने भएको छ ।

यसैगरी फाप्लु–लुक्ला, नाम्चे–सगरमाथा बेसक्याम्प, बाह्रबिसे–सभापोखरी, केराबारी–जेफाले–मिक्लाजुङ, अन्तुडाँडा–मंगलवारे माइपोखरी लगायतका स्थलमा केवलकार सञ्चालनका लागि विस्तृत अध्ययन गरिने भएको छ ।

संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई स्तरोन्नति गरी छिमेकी मुलुक भारतको पटना, कोलकाता, नयाँ दिल्ली तथा बंगलादेशको ढाकासम्म उडान शुरु गरी विदेशी पर्यटकलाई यस क्षेत्रमा भित्र्याउने प्रदेश सरकारको योजना रहेको छ ।

भारतको पश्चिम बंगला र विहार क्षेत्रका पर्यटकलाई आकर्षण गर्न निकट भविष्यमै विराटनगरबाट हिमशिखर अवलोकन उडान (माउन्टेन फ्लाइट) सञ्चालन गर्ने तयारी भइरहेको छ । धरान, उदयपुर, धनकुटा, पाँचथर र तेह्रथुम विमानस्थल निर्माणको कार्यलाई प्रदेश सरकारले आफ्नो नीति र कार्यक्रममा समावेश गरेको छ ।

सगरमाथा, मकालु वरुण तथा कञ्चनजंघा राष्ट्रिय निकुञ्ज, इलामको फिक्कल, कन्याम, श्रीअन्तु, धनकुटाको नमस्ते झरना, भेंडेटार, नाम्जे, राजारानी ताल, भोजपुरको ट्याम्के मैंयु, मिक्लाजुङ, तीनजुुरे–मिल्के–जलजले, विराट राजाको दरबार लगायतका पर्यटकीय गन्तव्य स्थलको विकासका लागि निजी क्षेत्रको सहयोगमा आवश्यक पूर्वाधार निर्माण गरी लक्ष्य अनुसार कार्य सम्पन्न गरिएको छ ।

प्रदेश सरकारले ‘युवाद्वारा युवा मैत्री पर्यटक सेवा’ भन्ने नाराका साथ मेची, कोशी र सगरमाथा क्षेत्रका सय वटा समुदायमा होमस्टे संचालन गर्ने भएको छ ।

अरुण, तमोर, दुधकोशी र सुनकोशी नदीहरुमा जलयात्राको विस्तृत सम्भाव्यता अध्ययन गरिने छ भने प्रदेशभित्र साहसिक पर्यटक, प्याराग्लाइडिङ, र्याफट्ङि, क्यानोनिङ, बन्जी जम्प र रक क्लाइम्बिङका लागि पनि सम्भाव्यता अध्ययन गरिने छ ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र निर्माणका लागि प्रदेश सरकारले आगामी आवमा ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL