काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर साउन १६ गतेदेखि मात्र खुला गर्नुपर्ने दोलखाका स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन ।
आयोजनाले यही असार २४ गतेदेखि साउन ९ गतेसम्म स्थानीय सेयर बिक्री गर्न सुचना प्रकाशित गरेपनि स्थानीय जनप्रतिनिधिले भने साउन १६ देखि भदौं १४ गेतसम्म खुला गर्न माग गरेका हुन् ।
वर्षातको समयमा जिल्लाबासीलाई आवतजावतमा समस्या र बैंकहरुको क्लोजिङ हुने भएकाले सेयर आवेदन दिन आवश्यक रकम जुटाउन नसक्ने भन्दै आयोजनालाई मिति सार्न आग्रह गरेका हुन् ।
आयोजनाले जिल्लाबासीले पाउने १० प्रतिशत सेयरको अवेदन असार २४ गते देखी साउन ९ गते सममको समय राखेकोमा जनप्रतिनिधिहरुले सो समय १ महिनाको हुनु पर्ने माग राख्दै धितोपत्र बोर्ड तथा तामाकोशी हाईड्रो पावरलाई आग्रह गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
जनप्रतिनिधिहरुले अधिकांस दोलखाबासी काठमाडौ लगायत देशका विभिन्न भागमा बस्दै आएकाले काठमाडौंबाट पनि सेयर आवेदन गर्न पाउनुपर्ने तथा जिल्लाका ७४ वटै वडामा सेयर संकलन काउन्टरको व्यवस्थापन गर्नुपर्ने माग राखेको छ ।
तर आयोजनाले भने आफुहरुलाई कुनै पत्र नआएको जानकारी दिएको छ । यदी जिल्लाबाट त्यस्तो पत्र आए कागजी प्रकृया पुरा गरेर धितोपत्रबोर्डमा दिने र धितोपत्रबोर्डको निर्णयअनुसार नै अघि बढ्ने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
धितोपत्रबोर्डको नियम अनुसार २ महिना भित्र सेयर निष्काशन गर्नु पर्ने भएकाले साउन १६ गते देखी आवेदन माग गर्न पनि सकिने न्यौपानेले जानकारी दिएका छन ।