Logo

काठमाडौंमा फ्रि वाइफाईको परिक्षण सुरु, यसरी बढ्दै छ फ्रि वाइफाइमा युट्युव चलाउनेको संख्या

काठमाडौंमा फ्रि वाइफाईको परिक्षण सुरु, यसरी बढ्दै छ फ्रि वाइफाइमा युट्युव चलाउनेको संख्या



काठमाडौं । काठमाडौं उपत्यकामा धेरैजसो इन्टरनेट प्रयोगकर्ताहरुले फ्रि वाइफाइ पाएको बेला युट्युव चलाउने गरेको देखिएको छ । काठमाडौं महानगरपालिका र निजी इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्कको सहकार्यमा काठमाडौंका विभिन्न ६ ओटा स्थानमा राख्ने भनिएको फ्रि वाईफाईको परिक्षण कालमा यस्तो तथ्याङ्क भेटिएको हो ।

फ्रि वाइफाइको काम अन्तिम चरणमा पुगेसँगै यसको परिक्षण कालमा विभिन्न स्थानमा कस्ता प्रयोगकर्ताले इन्टरनेट चलाउँछन, इन्टरनेटमा के बढि चलाउनँछन भनी कामपा र वल्र्डलिङले गरेको परिक्षणमा बढि प्रयोगकर्ताहरुले युट्युवका साथै ठुला फाइलहरु डाउनलोड गर्ने गरेको भेटिएको कामपाका सुचना प्रविधि महाशाखा प्रमुख ध्रुब काफ्लेले जानकारी दिए । साथै पछिल्लो समय सोही अनुरुप इन्टरनेटको क्षमता समेत बढाउन लागिएको उनको भनाई थियो ।

काफ्लेका अनुसार हाल फ्रि वाईफाईको काम सकिएपनि अहिले परीक्षणकाल मै रहेको छ । यस्तै उनले हाल परीक्षण कालकै बेलामा केही क्षेत्रमा प्रयोगकर्ताहरुले ठुलो फाइलहरु डाउनलोड गरेको र विशेषगरी युट्युव धेरै चलाएको पाइएकोले हाल दिदै आएको १० एमबीपीएस क्षमताले नपुग्ने बताए ।

उक्त क्षमताले नपुग्ने भएपछि उपत्यकाका स्वयम्भु, बालाजु तथा बौद्ध क्षेत्रमा प्रयोगकर्ता अनुसार क्षमता वृद्धि गर्न लागिएको जानकारी दिए । हाल उक्त स्थानहरुमा परीक्षण कालको समयमा नै धेरै भन्दा धेरै प्रयोगकर्ताहरुले युट्युव चलाएको पाइएको छ भने कतिपयले ठुला फाइलहरु तथा मुभिहरु डाउनलोड गरेको पाइएको छ ।

इन्टरनेटले कति क्षेत्र समेट्छ, कति प्रयोगकर्ताहरु आउँछन, कस्ता प्रयोगकर्ताहरु आउँछन, प्रयोगकर्ताले उक्त इन्टरनेटमार्फत के हेर्न चाहन्छन जस्ता प्रश्नको हल गर्न परीक्षण गरिएको थियो । साथै वल्र्डलिङक का मार्केटिङ म्यानेजर लक्ष्मण यादवले परिक्षण काल पनि समाप्त भई अब यसको उद्घाटनको चरणमा पुगेको बताए । ‘हामीले हाम्रो काम पुरा गरेर उद्घाटनको पर्खाइमा छौं । कामपाका मेयरसँग कुरा राखेका छौं उहाँको समय भएको दिनमा उद्घाटन गर्नेछौं,’ उनले भने ।

गत बैंशाखमा कामपा र वल्र्डलिङ्कको सहकार्यमा काठमाडौंका विभिन्न ६ ओटा स्थानमा फ्रि वाईफाइ राख्ने सम्झौता भएको थियो । सम्झौता अनुरुप उपत्यकाका वसन्तपुर, बौद्ध, संखपार्क, स्वयम्भु, वालाजु वाइसधारा तथा पशुपती क्षेत्रमा वाइफाइ सेवा जडान गरिएको हो । ती स्थानहरुमा १० एमवीपीएसको इन्टरनेट सेवा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL