Logo

असार भित्रै धरहराको शिलान्यास, आसपासका संरचना १५ दिन भित्र खाली गर्न निर्देशन

असार भित्रै धरहराको शिलान्यास, आसपासका संरचना १५ दिन भित्र खाली गर्न निर्देशन



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंमा रहेका धरहरा परिसरमा नयाँ संरचना निर्माणमा रोक लगाएको छ । प्राधिकरण र काठमाण्डौं महानगरपालिका बीच सहमति अनुसार संरचना निर्माणमा रोक लगाएको हो ।

सहमति अनुसार महानगरले धरहरा परिसरमा भाडामा लगाएका सम्पूर्ण सटरहरु १५ दिनभित्र खाली गराउने भएको छ । त्यसतै गोश्वारा हुलाक गायत संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंक अन्तर्गत रहेका सरकारी कार्यालयलाई स्थानान्तरणका लागि संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने प्राधिकरणले जानकारी दिएको छ ।

भुकम्पबाट ध्वस्त भएका धरहरा पुन निर्माणको लागि परिसर र आसपासमा नयाँ संरचना निर्माणमा रोक लगाएको राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिएका छन । भुसालकका अनुसार हाल बनिरहेका संरचनालाई यथास्थानमै राख्ने र नयाँ बन्ने संरचनामा रोक लगाउने सहमति भएको हो । गुठी संस्थानले आफ्नो हकभोगमा रहेको जग्गामा ठेक्कापट्टा लगाएको भए त्यसलाई तोड्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।

धरहरा पुन निर्माणको लागि टेण्डर खुलाउने अन्तिम तयारीमा रहेको भुसालले जानकारी दिएका छन । टेन्डर खुलेलगतै आर्थिक बर्ष भित्रनै शिलान्यास गर्ने भएको हो । भुसालका अनुसार टेन्डर गर्नु पूर्व जग्गाको ब्यवस्थापन गर्ने काम बाँकी रहेकाले व्यवस्थापनको लागि गृहमन्त्रालय, महानगर लगायतका स्टेकहोल्डरहरु सँग छलफल भइरहेको बताए ।

बुधबार सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहितको संयुक्त बैठकले बिनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको ऐतिहासिक धरहराको पुनर्निर्माणको सन्दर्भमा धरहराको सुन्दरतालाई असर पार्न सक्ने भन्दै यस्तो निर्णय गरेको प्रवक्ता भुसालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL