Logo

प्राइम बैंकले निरन्तर नाफाको बलियो जग हालेको छ

प्राइम बैंकले निरन्तर नाफाको बलियो जग हालेको छ


रामराजा श्रेष्ठ
0
Shares

बैंकको गुडविलका कारण विदेशी लगानीकर्ताहरु प्राइम बैंक खोज्दै आएका हुन् । स्थापना भएको छोटो समयमै छिटो प्रगति गर्ने बैंक पनि यही हो, जसले स्थापना भएकै वर्षदेखि लगानीकर्तालाई लाभांस वितरण गर्दै आएको छ ।

स्थापनाकालदेखि नै नाफामा सञ्चालित प्राइम कमर्सियल बैंक वित्तीय क्षेत्रको एक सशक्त संस्थाको रुपमा स्थापित भएको छ । ब्यालेन्स सिटका समग्र पक्षमा समकालिन बैंकहरुलाई धेरै पछाडि पारिसकेको यस बैंकले गत पुस मसान्तदेखि खूद मुनाफाका हिसावले मध्यमस्तरका सशक्त बैंक मानिने एनआईसी र बैंक अफ काठमाण्डूलाई समेत पछि पारेको छ । नयाँ र नौलो किसिमका परियोजनाहरुमा लगानी बढाएको यस बैंकले जलविद्युत, कृषि, उद्योग जस्ता उत्पादनशील क्षेत्रमा आफूलाई केन्द्रित गरेको छ । विशेषगरी उर्जाका क्षेत्रमा विदेशी इक्वीटी लगानी र ऋण लगानी समेत गरी करिब २२ अर्ब रुपैयाँ बराबरको कर्जा लगानीको सहवित्तीयकरणको अगुवाई समेत गरिरहेको छ । यसरी नयाँ–नयाँ क्षेत्रको अध्ययन अनुसन्धान गरी लगानी गर्दै आएका कारण केही बर्षअघि वित्तीय क्षेत्रमा देखा परेको समस्याले समेत यस बैंकलाई छोएन । स्प्रेड दर कम राखेर पनि निक्षेपमा बढी व्याज र कर्जामा कम व्याज दिइरहेको मात्र होइन, बढी नाफा समेत कमाइरहेको यस बैंकले यी तीन विपरीत अवस्थाको व्यवस्थापन कसरी संभव गराउन सक्यो होला ? यी र यस्ता अन्य जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरसँग गरेको कुराकानी ः

बजारमा थुप्रै बैंक तथा वित्तीय संस्थाहरु छन् । वित्तीय क्षेत्रमा प्रतिस्पर्धा पनि उत्तिकै बढेको छ । यस्तो अवस्थामा बैंकलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ?

बैंक वित्तीय क्षेत्रमा अवश्य पनि प्रतिस्पर्धा छ । तर, प्राइम बैंक शुरु देखिनै छुट्टै दृष्टिकोण लिएर अघि बढेकाले बजारमा देखिएका त्यस्ता खालका प्रतिस्पर्धाले कुनै असर पारेको छैन । हाम्रो बजार सुनिश्चित छ । निक्षेप संकलन तथा कर्जा प्रवाहमा हामीले छुट्टै रणनीति लिएका छौं । लगानीकर्ता, निक्षेपकर्ता, ऋणी तथा कर्मचारी सवैलाई एउटै दृष्टिकोणबाट हेर्दै आएको छ । बैंकले गरेको फाइदामा सबैलाई समेट्ने काम गरिरहेका छौं । जस्तो निक्षेपकर्ताहरुलाई बढी ब्याज दिइरहेका छौं, कर्जा लगानीमा व्याजलाई सकेसम्म कम निर्धारण गरेका छौं र स्प्रेड कम राखेर पनि बढी मुनाफा कमाइरहेका छौं । राष्ट्र बैंकको निर्देशन आउनुअघि नै हामीले ब्याज स्प्रेडलाई काम गरेका थियौं । राष्ट्र बैंकको निर्देशन आउनुअघि ग्राहकबाट जतिपनि ब्याज लिन सक्थ्यौं । तर, हामीले त्यसो गरेनौं र प्रतिकूल अवस्थामा हामीले ग्राहकबाट सदाशयता, माया र सद्भाव प्राप्त गर्न सक्यौं । अधिक र न्युन तरलताको अवस्थामा ग्राहक, शुभेच्छुक र नियमनकारी निकायहरुबाट उत्तिकै स्नेह प्राप्त गर्न सफल भयौं । हामीले कमाएको नाफा दिगो हुन सक्दैन कि भन्ने धेरैलाई शंका लागेको थियो । तर आज आठ बर्षसम्मको हाम्रो सफल यात्राले ती सबै शंकाहरुलाई किनारा लगाइदिएको अवस्था छ । प्राइम बैंक अहिले समकालिन मात्र होइन आफूभन्दा बर्षौंअघि स्थापित कयौं अन्य बैंकहरुलाई उछिन्न सफल भएको छ ।

निक्षेपमा बढी ब्याज, कर्जामा कम ब्याज र स्प्रेड कम राखेर पनि बढी मुनाफा कसरी सम्भव हुन सक्यो ? यसलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

सही प्रश्न गर्नुभयो । यी तीनै पक्षबीचको सन्तुलन सहज काम होइन । तर हामीले यी तीनै पक्षलाई सहीरुपमा सबैले देख्ने बुझ्नेगरी व्यवस्थापन गर्दै आएका छौं । नाफाका स्रोतहरु थुप्रै हुन्छन र हामीले आम्दानीलाई विविधिकरण गरेका छौं । सञ्चालन खर्च सबैभन्दा कम हाम्रै होला । खर्च कम गर्नु पनि नाफा बढाउनु जस्तै हो । धेरै अन्य बैंकहरुको उही पोर्टफोलियो व्यवस्थापनको सञ्चालन खर्च दोब्बर पनि छ । त्यसैले व्यवस्थापनको एउटा महत्वपूर्ण पाटो कार्यकुशलता पनि हो जुन हामीले प्रदर्शन गरिरहेका छौं । कर्मचारीहरुलाई प्रतिस्पर्धी तलव सुविधा दिएका छौं नाफा बढी कमाएका छौं । नाफाको केही हिस्सा निक्षेपकर्ता र ऋणीहरुलाई दिनुपर्छ भन्ने ध्येयले हामीले निक्षेपमा बढी ब्याज र कर्जामा कम ब्याज दिइरहेका छौं । नाफा बढी भएपछि सेयरधनीहरु लाभान्वित हुने भैहाले । सेयरधनीहरुलाई नाफा वितरणको रणनीति पनि हाम्रो बेग्लै छ । हामीले निरन्तर बोनस सेयर वितरण गरेर सेयरधनीहरुलाई अन्य बैंकहरुको तुलनामा उनीहरुको हातमा तत्कालको बढी प्रतिफल दिएका छौं भने एकपटकको हकप्रदबाहेक उनीहरुको खल्तीबाट निकाल्न नलगाई साठी करोठ चुक्ता पुँजीको बैंकलाई ३ सय १४ करोडको सशक्त बैंकको रुपमा उभ्याउन सफल भएका छौं । साथै बोनस वितरण भएपछि बढेको बैंकको आकार बृद्धिसँगै पोर्टफोलियो बढाएर बढी प्रतिफलको जग हाल्ने काम पनि सँगसँगै अगाडि बढाइरहेका छौं ।

narayan-das-mahanandar2

 

बासल तेस्रो संस्करणको व्यवस्था अनुसार त कारोबार बिस्तार गर्दै जाँदा चुक्ता पुँजी पनि बढाउँदै जानुपर्ने हुन्छ । तपाईहरुको कारोबारको यो गति बढ्दै जाने हो भने त चुक्ता पुँजी थप्दै जानुपर्ने हुन्छ । बोनस सेयर वितरणबाटै चुक्ता पुँजी वृद्धि गर्दै जानुहुन्छ वा कसैसँग मर्जको रणनीति पनि छ ?

अहिले त पुँजी वृद्धिका लागि राष्ट्र बैंकले निर्देशन दिइरहनुपर्दैन । बैंकहरुले कारोबार विस्तार गर्ने हो भने पुँजी पर्याप्तता अनुपात पनि सँगसँगै समायोजन गर्दै लैजानुपर्ने हुन्छ । यसो गर्दा पुँजी बढाउनुपर्ने हुन्छ । पुँजी बढाउनका लागि थुप्रै उपकरणहरु पनि रहेका छन । तर हामी बैंकले कमाएको नाफाबाट बोनस सेयर जारी गरेर पुँजी बढाउँदै लैजान्छौं । यो हाम्रो लगभग घोषित नीति जस्तै बनिसकेको छ । पुँजी वृद्धिका लागि सेयरधनीहरुको खल्तीबाट पैसा निकाल्न लगाउने पक्षमा छैनौं । यसको मतलव कसैसँग मर्ज गर्दैनौं भन्ने पनि होइन । ठूला बैंकहरुसँगको प्रतिस्पर्धामा जान यो रणनीति अवलम्वन गर्नुपर्छ । यसका लागि एक दुईवटा संस्थाले एप्रोच पनि गरिरहेका छन । हामीलाई मद्दत हुने स्थिति छ भने मर्ज वा एक्वीजिसन गर्न हामी खुल्ला छौं ।

यति छोटो अवधिमा बैंकले उच्च सफलता हासिल गर्नुको मुख्य कारण के हो ?

अन्य बैंक र प्राइम बैंकको सोच नै फरक छ । स्थापनाकालदेखि नै बैंक फरक सोच लिएर अघि बढेको छ । नेपालमा धेरै बैंक वित्तीय संस्था छन् । सवैको कार्यशैली एउटै प्रकृतिका छन् । तर, हामीले बैंक वित्तीय पहुँच नपुगेका क्षेत्रको खोज अनुसन्धान गरी लगानी गर्दैं आएका छौं । कस्ता खालका जनताले बैंकिङ सुविधा उपयोग गर्न पाएका छैनन् त्यसको पनि अनुसन्धान गरिरहेका छौं । बैंकलाई न्यूरोड आसपासकै क्षेत्रमा पनि लगानीको प्रशस्त संभावना छ । कतिपय बैंक वित्तीय संस्थाले अप्ठ्यारो नीतिका कारण लगानी गर्न सकेका छैनन् । तर, हामीले बैंकको नीतिमै परिवर्तन गरेर लगानी गर्दै आएका छौं ।

बैंकको नीतिमा कस्ता खालका परिवर्तन गरियो ?

बैंकिङ नीति अनुसार अहिले पनि सडक सुविधा नपुगेका घर जग्गा धितो राखेर कर्जा प्रवाह गरिँदैन । उदाहरणका लागि अहिले पनि न्यूरोड भित्रका धेरै जसो स्थानमा मोटरबाटो पुगेको छैन । के मोटरबाटो नपुगेकै कारण त्यस्ता घरजग्गा धितोमा राखेर कर्जा प्रवाह नगर्ने त ? तसर्थ बैंकले मोटरबाटो नपुगेका क्षेत्रका धितोमा पनि मुल्याङ्कन गरी सोही आधारमा कर्जा प्रवाह गर्दै आएको छ । यस्तै, कतिपय व्यक्तिसँग सीप छ तर त्यसलाई कार्यान्वयनमा ल्याउन लगानीको स्रोत छैन भने सामुहिक जमानीमा लगानी गर्दै आएका छौं । बैंकले नयाँ–नयाँ उद्यमीको खोजी गर्दै आएको छ । प्राइमको मुख्य दायित्व तथा जिम्मेवारी भनेको स्वदेशमा उद्योग कलकारखाना विकास गर्नु हो । यस्तै, हामीले गाउँमा गएर पनि नयाँ क्षेत्रको खोजी गरेर लगानी गर्दै आएका छौं । जसले गर्दा बैंकलाई प्रगतितर्फ लैजान सजिलो बनाएको छ ।

प्रतिस्पर्धाको आधारमा हेर्दा प्राइम बैंक कुन तहमा छ ?

बैंकको स्थापना भएको भर्खर ८ वर्ष भयो । यति छोटो अवधिमा पूँजी तथा लगानीको हिसावले हेर्ने हो भने प्राइम बैंककले जुन प्रगति गर्न सफल भएको छ त्यो अन्य बैंकले गर्न सकेको छैन । हाल बैंकले ३७ अर्व निक्षेप संकल गरी ३१ अर्व रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । बैंकिङ इतिहासमा स्थापना भएको वर्ष देखि नै लगानीकर्तालाई प्रतिफल दिने पहिलो बैंक पनि हो । बैंकले प्रतिफल पनि राम्रै दिँदै आएको छ । बजारमा कतिपयले लगानीकर्तालाई बोनस सेयर वितरण गरेको भन्दै आलोचना पनि गरिरहेका छन् । तर, अघि मैले भनेजस्तै बोनस सेयर वितरण गर्नु भनेको लगानीकर्तालाई तत्काल प्रतिफल दिनु हो । उनीहरुको पूँजी तत्काल बढ्छ । तर, नाफालाई रिजर्भ फण्डमा राख्दा पछिका लगानीकर्ताले मात्र फाइदा लिन्छन् । उदाहरणका लागि १० प्रतिशत बोनस सेयर दिनु भनेको अहिलेको अवस्थामा त्यसको ५ गुणा बढ्नु हो । अहिले नै बोनस सेयर दिएमा उनीहरुको मार्केट भ्यालु बढ्नुका साथै बजारमा पूँजी परिचालन पनि बढ्छ । दीर्घकालमा पैसाको भ्यालु घट्दै जान्छ । नाफा जति सवै रिजर्भ फण्डमा राख्नु भनेको लगानीकर्ताको पूँजीको भ्यालु घटाउनु हो । यस्तै बोनस सेयर दिँदा बैंकको पूँजी बढ्नुका साथै म्यानेजमेन्टलाई च्यालेन्ज पनि बढ्छ । पूँजी बढ्दै जाँदा सोही अनुसार नाफा बृद्धि गर्नु पनि जरुरी छ ।

यो संस्था ७० करोडमा स्थापना भएको थियो । त्यसपछि एकपटक मात्र हकप्रद सेयर जारी गरेको छ । तर, अहिले बैंकले बोनस सेयर जारी गरेरै चुक्ता पूँजी ३ अर्व १४ करोड रुपैयाँ बनाइसक्यो । लगानीकर्ताको पैसा नहाली कसरी पूँजी बृद्धि गर्न सम्भव भयो ?

पहिलो कुरा बैंकको नाफा राम्रो छ । कर्जाको गुणस्तर राम्रो छ र यसले दिगो प्रतिफललाई सुनिश्चित गरिरहेको हुन्छ । नाफा राम्रो भएकै कारण लगानीकर्तालाई बोनस सेयर दिँदै आएका छौं । बैंकले गत आर्थिक वर्षको नाफाबाट पनि लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिएको थियो । हाल बाणिज्य बैंकको चुक्ता पूँजी ५ अर्व पु¥याउने विषयमा वहस चलिरहेको छ । यही आधारमा बोनस सेयर वितरण गर्ने हो भने लगानीकर्ताको पैसा नहालीकनै आगामी २ वर्ष भित्र बैंकको चुक्ता पूँजी ५ अर्व रुपैयाँ पु¥याउन सकिनेछ । यस्तै बोनस सेयर वितरण गर्नु भनेको बैंकलाई अझ बढी प्रतिस्पर्धामा लैजानु पनि हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार जलविद्यत् तथा अन्य उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत लगानी गर्नुपर्छ । प्राइम बैंकले हालसम्म त्यस्ता क्षेत्रमा कति लगानी गरेको छ ?

हामी स्वदेशी बैंक हौं । स्वदेशी बैंकको मुख्य लक्ष्य देशमा उद्योग कलकारखाना विकास गर्नु हो । हामीले राष्ट्र बैंकले निर्देशन दिनुभन्दा अघि नै उत्पादनमुलक क्षेत्रमा लगानी बढाएका थियौं । अहिलेसम्म करिब २५ प्रतिशत लगानी भएको छ । देशको आर्थिक विकासका लागि राष्ट्र बैंकले निर्देशन नदिएका क्षेत्र समेत पहिचान गरेर लगानी गर्दै आएका छौं । राष्ट्र बैंकले भर्खरै मात्र कृषि क्षेत्रमा अनिवार्य लगानी गर्ने नीति ल्याएको छ । तर, प्राइमले स्थापनाकालदेखि नै कृषिमा लगानी गर्दै आएको छ । उहादरणका लागि हामीले दोलखाको जिरीमा चिज उत्पादन, ट्राउट माछा जस्ता कृषि उत्पादनमा लगानी गरेका छौं । त्यो एकदमै सफल भयो । हाल एसियाली विकास बैंकले त्यसैलाई हिमाली आयोजनाको रुपमा कार्यान्वयनमा ल्याइरहेको छ । हामीले शुरु गरेको प्रोजेक्टलाई अन्य संस्थाले दिगोपन दिँदै आएका छन् । त्यो नै हाम्रो उपलब्धि हो ।

पछिल्लो समय बैंकले जलविद्युत्लाई उच्च प्राथमिकता दिएर अघि बढाएको छ नि ?

यो नेपालको लागि अत्यावश्यक र उच्च प्राथमिकताको क्षेत्र हो । उर्जाको विकास नभै आधुनिक अर्थतन्त्रको विकास हुन सक्दैन । नेपालीको दैनिक उपभोग तथा देशको आर्थिक विकासको लागि ऊर्जा विकास अनिवार्य छ । बैंकका लागि पनि अन्य क्षेत्रको तुलनामा बढी लाभ हुने क्षेत्र यही हो । हामीले जलविद्युत्मा स्वदेशी तथा विदेशी दुवै खालका लगानी गरिरहेका छौं । हाम्रो माध्यमबाट गैर आवासीय नेपाली, चीन, भारत तथा युरोपेली मुलुकहरुले पनि लगानी गर्दै आएका छन् । उनीहरुले प्रत्यक्ष सेयर लगानीका साथै विदेशी फण्ड ल्याएर प्राइम बैंकमार्फत लगानी गरिरहेका छन् । हामीले त्यस्तो फण्डको कन्सोर्टियम लिड गरिरहेका छौं । हालसम्म प्राइम बैंकले रू करिब २२ अर्ब जतिको यस्तो लगानीमा ठूला जलविद्युत परियोजना अघि बढाइरहेको छ । यस क्षेत्रमा लगानीका लागि अहिले पनि विदेशी लगानीकर्ताहरु आइरहेका छन् । अहिले देशमा लगानी गर्ने बेला हो । यो अवस्थामा बैंकहरु २० प्रतिशमै अल्झिएर बस्नु जरुरी छैन । बैंकलाई बढी नाफा दिलाउन र देशको आर्थिक विकासका लागि उत्पादनमुलक क्षेत्रमा जतिसक्दो बढी लगानी गर्नुपर्छ । त्यसैले हामीले आगामी दिनमा उर्जा क्षेत्रमा अन्य विदेशी लगानीकर्ताहरु पनि ल्याउँदैछौं ।

narayandas-manandar-3

नेपालमा धेरै बैंक वित्तीय संस्थाहरु छन् । तर, विदेशी लगानीकर्ताले प्राइम बैंकलाई नै रोज्नुको कारण के हो ?

पहिलो विषय लगानीकर्तामा भर पर्छ । हाम्रो मुख्य उद्देश्य नै राष्ट्र निर्माण हो । हामीमा सकारात्मक सोच छ । अहिले विभिन्न देशबाट लगानीकर्ताहरु प्राइम बैंकमा आइरहेका छन् । त्यो हामीसँगको व्यक्तिगत चिनजानका भरमा आएका त होइनन् । बैंकको गुडवीलका कारण लगानीकर्ताहरु आकर्षित भइरहेका छन् । बैंकले विभिन्न खालका सम्भावना बोकेका नयाँ–नयाँ क्षेत्रको खोजी तथा पहिचान गर्दै आएको छ । जसको भ्यालुएड एकदमै राम्रो छ । अर्को उदाहरण दिउँ वैदेशिक रोजगारीमा जाने कामदारलाई शीप सिकाएर पठाउन थालेका छौं । त्यस्ता कामदारले देशमा पठाउने रेमिट्यान्स पनि बढी हुन्छ । बैंकले प्यारेन्ट स्टकमा पनि लगानी गर्दै आएको छ । अहिलेसम्म नेपालमा माउ चल्ला उत्पादन हुँदैन्थ्यो । तर, प्राइम बैंकले त्यसमा लगानी गरेपछि स्वदेशमै माउ चल्ला उत्पादन गर्न थालिएको छ । जहाँ ५० करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । बैंकको गुडवील र नविनतम सोचका पछि लागेर विदेशी लगानीकर्ताहरु आएका हुन् ।

छोटो अवधिमा बैंकले जलविद्युत्, सिमेन्ट उद्योगजस्ता धेरै प्रोजेट लीड गरेको छ । यो कसरी सम्भव भयो ?

हामीले कुनै पनि आयोजनाको सम्भाव्यता अध्ययन गरेर मात्रै लगानी गर्दै आएका छौं । जहाँ लगानी गर्द बढी फाइदा हुन्छ त्यस्ता आयोजनालाई अघि बढाउने हो । कुनै पनि व्यक्तिले आफ्नो मात्र पूँजी लगाएर आयोजना अघि बढाउन सक्दैन । इच्छा शक्ति भएका लगानीकर्तालाई आकर्षित गर्ने हो । सीप नभएकालाई सीप सिकाउने, सीप भएका व्यक्तिको क्षमता अभिबृद्धि गर्नु बैंकको उद्देश्य पनि हो । कतिपय लगानीकर्तालाई सल्लाह सुझाव दिँदै आएका छौं । बैंकले जलविद्युत्, सिमेन्टजस्ता उद्योगगरी झण्डै १५ वटा प्रोजेक्ट लीड गरिरहेको छ । पूर्वाधार विकास नभै राष्ट्र विकास हुन सक्दैन । सिमेन्ट पनि पूर्वाधार विकासका लागि आवश्यक वस्तु हो । तसर्थ प्राइम बैंकले सिमेन्ट उद्योगमा पनि लगानी गर्दै आएको छ । हामी धितोको वारेमा अध्ययन नगरी कर्जा प्रवाह गर्दैनौं । कतिपय बैंकले कमर्शियल भेइकल, क्रसरजस्ता उद्योगमा कर्जा प्रवाह गरे । तर, हामीले गरेनौं । सरकारको स्पष्ट नीति नभएका क्षेत्रमा लगानी गर्दैनौं ।

बैंकको वित्तीय अवस्था एकदमै राम्रो छ । यति हुँदाहुँदै पनि बजारमा बैंकको सेयर मुल्य चाहिँ एकदमै कम छ भनिन्छ नि ?

बैंकको अवस्था एकदमै राम्रो छ र दिगो विकासका लागि हामीले बलियो जग हालेका छौं । बर्षैपिच्छे बोनस सेयर दिइरहेका छौं । विगत ८ वर्षको दौरानमा बैंकको बृद्धि एकदमै राम्रो छ । एउटै गतिमा अघि बढेको छ । बैंकले अघि बढाएका आयोजना तथा संचालन मुनाफा पनि एकदमै राम्रा छन् । कतिपय बैंकको राइट व्याक उठेर नाफा बढी भएको देखिन्छ भने मर्जरका कारणले केही समयका लागि बढी नाफा देखिन्छ । तर, प्राइम बैंकमा त्यस्तो छैन । तर पनि प्राइम बैंकको सेयरमूल्य अन्यको तुलनामा कम छ भन्ने हामीलाई पनि लागेको छ । अर्को महत्वपूर्ण पक्ष के रहेको छ भने अल्पकालिन लगानीकर्ताहरु कुनै पनि बैंकको अवस्था नराम्रो रहेको र पछि राम्रो हुने सूचना पाएर खरिद गर्ने र राइटब्याक हुनासाथ बिक्री गरिहाल्ने गर्छन । यसले मूल्यलाई उतारचढाव गराइरहेको हुन्छ । प्रोभिजनमा बढी गयो भने भाउ घट्छ र राइटब्याक भयो भने त्यस्तो सेयरको मूल्य बढेको देखिन्छ । तर प्राइम बैंकको निरन्तर नाफाको सुनिश्चितता छ । त्यसैले धेरैले सेयरलाई बिक्रीमा ल्याउँदैनन् । बिक्रीमा नआएकोले खेलाडीको हातमा सेयर नपरेको हुन सक्छ । खेलाडीको हातमा परेको भएपनि मूल्य माथि रहन सक्थ्यो होला । प्राइम बैंकको सेयर ठूलो परिमाणमा किन्न चाहनेहरु पनि छन भन्ने सुनिन्छ । मूल्य कम छ भनेर के भन्ने कसैले धेरै कित्ता हालको मूल्यमा बिक्रीमा ल्याउँछ त ? त्यस्तो स्थिति त देखिदैन । प्राइम बैंकको धेरै सेयर त किन्नै पाइदैन । बैंकले बढी लाभांस दिएकै कारण लगानीकर्ताले सेयर होल्ड गरेर वसेका छन् । यी विविध कारणहरुले गर्दा यस बैंकको सेयरमूल्य कम भएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL