Logo

१ करोड ६८ लाख रुपैंयामा भ्यू–टावर निर्माण हुने, धार्मिक पर्यटक प्राथमिकतामा

१ करोड ६८ लाख रुपैंयामा भ्यू–टावर निर्माण हुने, धार्मिक पर्यटक प्राथमिकतामा



काठमाडौं । कञ्चनपूरको भीमदत्त नगरपालिमा ५ तले भ्यू–टावर निर्माण हुने भएको छ ।

नगरपालिकाको मटेनास्थित चुरे क्षेत्रमा पर्ने ताराकोटमा ५ तले भ्यू–टावर निर्माण गर्न लागेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताएका छन ।

चालु आर्थिक वर्षमै भ्यू–टावर निर्माण गर्ने योजनाका साथ नगरपालिकाले परामर्शदाता नियुक्त गरी यसको सम्भाव्यता अध्ययन गराएको थियो । उक्त अध्ययन प्रतिवेदन कार्यालयलार्ई बुझाइसकेको नगरपालिकाका इञ्जिनियर हिमालय सिंह ऐरले बताएका छन ।

पाँचतले भ्यू–टावर निर्माणका लागि १ करोड ६८ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र झिलमिला तालसम्म सडक कालोपत्र पुग्ने भएपछि दर्शनार्थी र पर्यटकलाई दृष्यावलोकनका लागि भ्यू–टावर बनाउन लागिएको नगरपालिकाले जानकारी दिएको छ ।

इञ्जिनियर ऐरका अनुसार ५ तले भ्यू–टावरसहित शौचालय निर्माण हुने परामर्शदाताको प्रतिवेदनमा उल्लेख छ । नगर प्रमुख विष्टले ब्रह्मदेवदेखि रौटेलासम्म धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन ।

राटेलादेखि ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटकीय मार्ग निर्माण गरी झिलमिला, ब्रह्मदेव, भम्केनीधाम, विष्णु मन्दिर साकेत धाम र रौटेलाको विकास गर्ने लक्ष्य सहित पूर्वाधार निर्माणको कार्य अगाडी बढाएको प्रमुख विष्टले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्