काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकबीच एक आपसमा मर्जर भई आजबाट एकिकृति कारोबार सुरु भएको छ । मर्जर प्रक्रिया सुरु भएको १५ महिनापछि दुई सरकारी बैंक एकआफसमा गाभिई एकिकृत कारोबार सुरु भएको हो ।
मर्जरसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ पुगेको छ भने शाखा संजाल र कभरेजको हिसावले सवैभन्दा ठूलो बैंक भएको छ । हाल बैंकले ६९ वटा जिल्लामा १ सय ९१ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अघिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । सो अबधिसम्म आईपुग्दा १ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।
मर्जरसँगै बैंकले १ सय ३५ वटा एटीएम, १८ एक्स्टेन्सन काउण्टर, ९३ शाखा रहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । पछिल्लो समय बैंकका सवैजसो परिसुचकहरु सकारात्मक देखिएको र आगामी दिनमा बैंकलाई अझ सबल, सुदृढ र प्रतिस्पर्धी बनाउन आफुहरु लागिपर्ने श्रेष्ठको भनाइ थियो ।
आगामी दिनमा थप व्यवसायका क्षेत्रहरु बढाउँदै सम्पती शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थालाई लाई चुष्त रुपमा अघि बढ्ने बताए । हाल बैंकको कुल कारोबारमध्ये ३६ प्रतिशकत विद्युतीय कारोबारमार्फत भइरहेको जानकारी दिँदै आगामी दिनमा यसलाई अझ बढाइने उनको दावी थियो ।