Logo

नारायणहिटी संग्रहालय : ९ बर्षमा २७ लाखले गरे अवलोकन, २३ करोड राजस्व संकलन

नारायणहिटी संग्रहालय : ९ बर्षमा २७ लाखले गरे अवलोकन, २३ करोड राजस्व संकलन



काठमाडौं । नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको ९ वर्षमा २७ लाख ३१ हजार ४ सय ८५ जनाले अवलोकन गरिसकेका छन ।

विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो ।

अवलोकन गर्नेहरुमा विद्यार्थी ११ लाख ४५ हजार ५ सय १०, सर्वसाधारण १३ लाख ६५ हजार ९१ जना रहेका छन ।

नारायणहिटी अवलोकनमा विदेशी पर्यटकको पनि उल्लेख्य सहभागिता रहेको छ । विदेशी पर्यटकहरुमा चीनसहित सार्क मुलुकका गरि १ लाख ५५ हजार ५ सय ७६ र अन्य मुलुकबाट ६५ हजार ३ सय ८ जनाले अवलोकन गरेका हुन । जसबाट २३ करोड २४ लाख ५१ हजार ५ सय ५ रुपैया राजस्व संकलन भएको छ ।

टिकट बिक्रीबाट २३ करोड ९ लाख ६७ हजार ३ सय र सवारी साधन पार्किङबाट १४ लाख ८४ हजार २ सय ५ रुपैंया आम्दानी भएको संग्रहालयका सूचना अधिकारी अद्धैत श्रेष्ठले जानकारी दिए । उनले भने ‘नेपाली विद्यार्थीलाइ २० रुपैया, सर्वसाधारणलाई १ सय रुपैया लिने गरेको छ । चीनसहित सार्क मुलुकका अवलोकनकर्तालाई २ सय ५० रुपैया र अन्य मुलुकका अवलोकनकर्तालाई भने ५ सय रुपैंया लिने गरेको बताएका छन ।

चालू आवको चैत मसान्त सम्म मात्र २ लाख ३५ हजार ५ सय ३४ जनाले संग्रहालय अवलोकन गरेकामा ८७ हजार ९ सय १८ जना विद्यार्थी, एक लाख २८ हजार ६२ जना सर्वसाधारण, १३ हजार २ सय १३ चीन सहित सार्क मुलुकका अवलोकन कर्ता रहेका छन भने ६ हजार ३ सय ४१ जना अन्य मुलुकका रहेका छन् ।

चालु आवमा मात्र २१ लाख ३ हजार ८ सय ३१ रुपैंया राजश्व संकलन भएको छ भने ८ हजार ३ सय ९२ सवारी पार्किङबाट १ लाख ३५ हजार ८ सय ७५ रुपैंया संकलन भएको छ ।

संग्रहालयले मोटरसाइकल पार्किङका लागि १० रुपैंया, कार र जिपका लागि २५ रुपैंया र माइक्रो, भ्यान, मिनीबस र बसका लागि ५० रुपैया दस्तुर लिदै आएको छ ।

मंगलबार र बुधबार बाहेक ५ दिन सर्वसाधारणका लागि खुला गरिने संग्रहालय दिनको ११ देखि ३ बजेसम्म अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ ।

सङग्रहालय भित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका १९ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ ।
सङग्रहालयमा श्रीपेच लगायतका सामग्री देखाउन सकेमा अझै दर्शकको चाप बढन सक्ने कार्यालयका प्रमुख रोहितकुमार ढुंगानाले बताए ।

सङग्रहालय घुम्न आउने दर्शकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ । सङग्रहालय भित्र झोला, क्यामरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही गरिएको छ ।
गुल्मकी प्रमुख पूर्णिमा चन्दले दैनिक १ हजार देखि ३ हजार दर्शकलाई जाँच गरेर सङग्रहालयको अवलोकनका लागि पठाउने गरेको बताउँछिन ।

प्रतिक्रिया दिनुहोस्
MBL