काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न छ स्थानमा फ्री वाइफाइ सेवा दिने भएको छ । निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउनका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङक र कामनपाबीच सम्झौता भएको हो ।
सम्झौतापत्र अनुसार कम्पनीले अबको ६० दिनमा काठमाडौंका विभिन्न ६ स्थानमा इन्टरनेट जडान गरिसक्नुपर्नेछ । साथै यदि कम्पनीले सिमित दिनभित्र सेवा जडान गर्न नसके कामनपाले अरु ३० दिनको म्याद थप्नेछ । उक्त कार्य ५ वर्षको लागि वल्र्डलिङक सेवा प्रदायकले पाएको हो ।
कम्पनीले सेवा जडान गर्नेदेखि सवै कामहरु गर्नेछ । साथै इन्टरनेट जडान गर्दा केहि भौतिक संरचना बिग्रीएमा सो पनि मर्मत संभार गरि दिनुपर्नेछ । कम्पनीले १० एमविपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने छ ।
सम्झौता अनुसार हरेक व्यक्तिले एक क्षेत्रमा एक दिनका ३० मिनेटका दरले उक्त सेवा लिन सक्नेछन । कामनपाले यसको नियमनको लागि ३ जनाको समिति गठन गर्नेछ । यसका साथै नियमनको लागि सुचना तथा प्रविधि महाशाखाका प्रमुख त्यसको संयोजक रहने छन् ।
सम्झौता अनुरुप उपत्यकाका वसन्तपुर, बौद्ध, संखपार्क, स्वयम्भु, वालाजु वाइसधारा तथा पशुपति क्षेत्रमा वाइफाइ सेवा जडान गरेपनि केहि दिनमा उपत्यकाका अन्य ठाउमा पनि यस्तै सेवाको लागि कार्य अघि बढाउने कामनपाका निर्देशक बसन्त आचार्यले जानकारी दिए ।