Logo

‘हाइड्रो समिट’ गर्दै आईएफसी, विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने

‘हाइड्रो समिट’ गर्दै आईएफसी, विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ फागुन, काठमाडौं । इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले नेपालमा ‘हाइड्रो समिट’ गर्ने भएको छ । विश्व बैंक अन्तरगतको सो संस्थाले यही फागुन २१ गते काठमाडौंको हायात होटलमा हाइड्रो समिट गर्न लागेहो हो ।

नेपालमा जलविद्युत् विकासका लागि हाइड्रो समिट गर्न लागिएको आइएफसीले जानकारी दिएको छ । विशेषगरी नेपालको जलविद्युत् विकासका लागि विदेशी लगानी भित्र्याउने उद्देश्य अनुरुप उक्त समिट गर्न लागिएको हो ।

केही समय अघि भारतसँग भएको पावर ट्रेड एग्रीमेन्ट (पीटीए) तथा जीएमआरसँग भएको प्रोजेक्ट डेभलपमेन्ट एग्रीमेन्ट (पीडीए) सँगै नेपालको जलविद्युत्मा लगानी गर्न विदेशीहरुले चासो देखाएका छन् । यस्तै दक्षिण एशियाली शिखर सम्मेलन (सार्क)मा भएको सार्कस्तरीय प्रशारणलाइन विस्तार गर्ने सम्झौताले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न विदेशीहरुले झनै चासो देखाएका छन् ।

सम्मेलनमा सार्क मुलुकका साथै अन्य विदेशी लगानीकर्ताको सहभागिता रहनेछ । सम्मेलनले देशको जलविद्युत् विकासमा थप लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । पीटीए र पीडीए भएसँगै नेपालको जलविद्युत् क्षेत्रमा लगानीको प्रतिवद्धता ओइरिएको छ । हालसम्म जलविद्युत्मा झण्डै १२ अर्व डलरको विदेशी लगानी प्रतिवद्धता आइसकेको छ ।

केही समयअघि श्रीलंकाको पूर्व अर्थमन्त्री शरद अनुमुगामाले अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा नेपालको जलविद्यत् क्षेत्रमा लगानीगर्न आफुहरु तयार रहेको बताएका थिए । साथै, यही फागुन २१ गते हुन लागेको हाइड्रो समिटमा केही ठोस निर्णय लिइने समेत जानकारी दिएका थिए ।

सो समिटको उद्घाटन प्रधानमन्त्री शुशील कोइरालाले गर्ने भएका छन् भने प्रमुख वक्ताको रुपमा अर्थमन्त्री डा. रामशरण महत रहने छन् । सो समिटमा थुप्रै विदेशी लगानीकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएको छ । साथै, विश्व बैंकका जलविद्युत् सम्बन्धी विज्ञहरुले पनि यस विषयमा आ–आफ्नो धारणा राख्नेछन् ।

यस अघि सन् २०१२ मा पनि आईएफसीले हाइड्रोपावर समिट गरेको थियो । उक्त समिटले लिएको लक्ष्य र उद्देश्य पुरा गर्नका लागि हाल हुनलागेको समिटले सहयोग गर्ने समेत आयोजकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL