Logo

विज्ञापन व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै गएको छ

विज्ञापन व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै गएको छ


रामराजा श्रेष्ठ
0
Shares

समानुपातिक विज्ञापन प्रणाली भनेको मिडिया हाउस चलाउन खर्च दिए जसरी वितरण गर्ने पद्दति हो । यसमा लक्षित ग्राहक हेरिदैन भने त्यति उपयोगी पनि हुँदैन ।

नेपालमा विदेशी विज्ञापनको हिस्सा १० प्रतिशतभन्दा बढी छ । त्यस्ता विज्ञापनबाट सरकार र तथा व्यवसायीलाई कुनै लाभ हुँदैन । तसर्थ आनले विज्ञापन नीतिमा क्लिन फिड लागू गर्नुपर्ने मात्र राख्दै आएको छ । विज्ञापन बजारमा देखिएको समस्या, हाल आउन लागेको विज्ञापन नीतिजस्ता विषयमा बिजखबरका रामराजा श्रेष्ठ र रक्षा रेग्मीले एडभर्टाइजिङ एशोसिएसन अफ नेपाल (आन)का अध्यक्ष सन्तोष श्रेष्ठसँग गरेको कुराकानीको सार ः

एडभर्टाइजिङ एशोसिएसन अफ नेपाल (आन) को नेतृत्व लिनुभएको छ ? संस्थालाई अगाडी बढाउन के–कस्ता योजना बनाउनु भएको छ ?

आनमा मेरो नेतृत्वको टिम निकै बलियो छ । निर्वाचनको समयमा हामीले ‘रोडम्याप अफ आन’ भनेर एउटा एजेण्डा प्रस्तुत गरेका थियौं । जसमा अल्पकालिन तथा दिर्घकालिन योजनाहरु छन् । त्यस्तै विज्ञापन व्यवसायमा तत्काल गर्नुपर्ने केही एजेन्डा छन् त्यसबारेमा पनि योजना बनाउँदै छौं ।

विज्ञापन नीति ल्याउने विषयमा छलफल भएको समय भयो तर अहिले सम्म आउन सकेको छैन नि ?

सरकारले २०५९ सालमा दिर्घकालिन विज्ञापन नीति ल्याएको थियो । तर, त्यो पोलीसि कार्यन्वयनमै आएन । लामो समयपछि अहिले सरकार विज्ञापन नीति ल्याउन अग्रसर भएको छ । हाल सरकारले यसको मस्यौदा तयार पारिसकेको छ । यसलाई मन्त्रिपरिषद्बाट पास गराएर ल्याउने कुरा भइरहेको छ । सो सम्बन्धमा आनले पनि आफ्नो तर्फबाट लविङ गरिरहेको छ । हामीले नीतिको वारेमा सरकारलाई राय सुझाव दिएका छौं । सोही अनुसार आएमा विज्ञापन बजार तथा नीति राम्रो हुनेछ ।

मस्यौदामा कस्ता कस्ता विषय समेटिएका छन् ?

हाल सरकारले तयार पारेको विज्ञापन नीतिको मस्यौदा आनले भने अनुसारको छैन । आनले ‘क्लिन फिट’ लागु गर्न लविङ गरिरहेको छ । यस्तै सरकारले पनि क्लिन फिट लागु गर्ने, बहुराष्ट्रिय एडभटाइजिङले लोकल विज्ञापन एजेन्सी मार्फत विज्ञापन दिनुपर्ने विषय उल्लेख गरेको छ । हामील ‘डविङ’ लाई बन्द गर्नु पर्ने तथा मल्टिनेशनल प्रडक्टको विज्ञापन नेपालमै बनाउनुपर्ने माग राखेका थियौं । तर, सरकारले भने त्यस्ता विज्ञापनलाई निरुत्साहित गर्ने मात्र गर्ने भनेको छ । त्यसको हामीले विरोध गरिरहेका छौ । यसलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने पर्छ । जसले नेपालको विज्ञापन बजार बढाउनेछ ।
यस्तै, आनले विज्ञापनलाई पूर्ण रुपमा उद्योगको रुपमा विकास गर्नुपर्ने माग राख्दै आएको छ । नेपालको विज्ञापनको बजार वार्षिक ५ अर्व रुपैयाँ बरावरको रहेको छ । अर्वौ रुपैयाँको कारोवार गर्ने उद्योगलाई सेवा क्षेत्रमा मात्र राखेर हुँदैन । नेपालको विज्ञापन बजार वार्षिक १५ प्रतिशतले बढ्दै गएको छ । तर, सरकारले सोही अनुसार सेवासुविधा दिन सकेको छैन ।

विज्ञापनको समानुपातिक वितरणको पनि त विरोध गर्दै हुनुहुन्छ नि ?

हो, सरकारले गत बर्षदेखि सरकारी विज्ञापनलाई समानुपातिक तरिकाबाट वितरण गर्ने भनेको थियो । त्यसको हामीले विरोध गरिरहेका छौ । आनले एकद्धार प्रणाली तथा समानुपातिक दुवैको विरोध गरेको छ । यस विषयमा पुनरावेदन अदालतमा मुद्दा विचाराधिन अवस्थामा छ । अहिलेको मस्यौदामा सरकारी विज्ञापनलाई वर्गीकृत गरी लोक कल्याणकारी तथा समाजिक विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्ने कुरा गर्दै आएको छ । तर, आनले भने विज्ञापनको मिडिया प्लान बनाउँदा व्यवसायिक रुपमै बनाउनुपर्ने माग गर्दै आएको छ । यस्तै हामीले विज्ञापन विकास बोर्ड बनाउनु पर्ने विषयलाई समेत प्रमुखताका साथ उठाएका छौं ।

यस्तै, हालको मस्यौदामा कुनै राजनीतिक पार्टीले आफ्नो प्रचारप्रसारका लागि विज्ञापन गर्ने नपाउने कुरा उल्लेख गरेको छ । तर, राजनीतिक दलले मिडिया तथा विज्ञापन एजेन्सीको प्रयोगबाट विज्ञापन गर्न पाउनु पर्छ भन्ने आनको अडान छ ।

समानुपातिक प्रणालीको विरोध गर्नुको कारण के हो ?

समानुपातिक र एकद्धार दुईओटा छ । एकद्धारको त पुरै विरोध नै गरेका छौं । त्यस्तै समानुपातिक प्रणाली भनेको पनि मिडिया हाउस चलाउन खर्च दिएको जसरी वितरण गर्ने प्रणाली हो । यसमा लक्षित ग्राहक हेरिदैन जसले गर्दा त्यो पनि त्यति उपयोगी हुँदैन । सिपिटी(कस्ट फर थाउजेन) को विश्लेषण नै नगरी सरकारले आफुलाई मन पर्ने एजेन्सीलाई विज्ञापन दिन्छन् र झन मनोपोली बढ्न सक्छ ।

देशमा जुन रुपमा आर्थिक गतिविधि बढीरहेको छ सोही अनुसार विज्ञापन बजार बढेको देखिदैन नि ?

विज्ञापन बजार जुनसुकै परिस्थितीमा पनि बढेको छ । लोकन उत्पादन क्षेत्रमा घट्दा ट्रेडिङ तथा सेवामा बढेको हुन्छ । क्षेत्रगत रुपमा घटेको देखिएपनि समग्रमा बार्षिक १५ प्रतिशतले नेपालको विज्ञापन बजार बढेको छ ।

पछिल्लो तथ्यांक अनुसार यसको विज्ञापन बजार कति छ ?

अहिले बार्षिक ५ अर्व रुपैयाँको हाराहारीमा छ ।

‘क्ल्नि फिड’ ले नेपालको विज्ञापन बजारको कति प्रतिशत हिस्सा ओगटेको छ ?

विदेशी विज्ञापनले ओगट्नु भन्दा पनि नेपाली व्यवसायीले व्यवसाय गुमाएका हुन् । क्लिन फिड लागू भएका बार्षिक करोडौंको विज्ञापन बजार बढ्न सक्छ । हामीले विज्ञापन विकास बोर्डको पनि लविङ गरिरहेका छौं । त्यसलाई पनि सम्बोधन गरिएको छैन । विदेशी विज्ञापनले करिव १० प्रतिशत हिस्सा ओगटेको छ ।

विज्ञापन व्यवसायका समस्या के के हुन् ?

विज्ञापन चक्रमा सरकार, मिडिया, विज्ञापन एजेन्सी, विज्ञापनकर्ता र उपभोक्ता गरी ५ ओटा पक्ष जोडिएका छन् । यी सवैको आ–आफ्नै समस्या छन् । सरकारी पक्षमा हामीले बारम्बार उठाउँदै आएको विषय क्लिन फिड नै हो । यो पोलिसी लागू गरेमा विज्ञापन बजार बढ्छ । पछिल्लो समय सरकार यसमा सकारात्मक देखिएको छ र हामी पनि आशावादी छौं । त्यस्तै मिडिया तथा विज्ञापन एजेन्सीबीच आपसी विश्वास बढाउनु जरुरी छ । पछिल्लो समय मिडियाले विज्ञापन एजेन्सीलाई वेवास्ता गर्दै आफैले विज्ञापन प्रकाशन गर्ने तथा प्रसारण गर्न थालेका छन् । यो व्यवसायिक पद्दती होइन । त्यस्तै विज्ञापन एजेन्सीबीच पनि अस्वस्थ प्रतिशपर्धा बढ्दै गएको छ ।

लोडसेडिङले विज्ञापन बजारमा कस्तो असर पारेको छ ?

पक्कै पनि लोडसेडिङले विज्ञापनलाई प्रभाव पारेको छ । नेपालको सन्दर्भमा ‘प्रिण्ट एड’ नै बढी छ । लोडसेडिङले गर्दा टिभी तथा इलेक्ट्रोनिक मिडियाको विज्ञापनमा नकारात्मक प्रभाव पारेको छ
पछिल्लो सामान्य लगानीमा पनि विज्ञापन एजेन्सी खोल्नेक्रम बढीरहेको छ , यसले विज्ञापन बजारमा कस्तो प्रभाव पार्ला ?
साना एजेन्सीले केही हदसम्म बजार विगारिरहेको छ । हामीमा पनि अस्वस्त प्रतिशपर्धाहरु छन् । त्यसलाई हटाउन जरुरी छ र ढिला पनि भइसकेको छ । बाहिरका स्टेक होल्डर तथा व्यवसायी भित्रका अस्वस्थ्य बढेकोले समस्या देखिएको छ । समस्याको समाधानका लागि आनले एउटा रोडम्याप पनि बनाएको छ । त्यो रोड म्यापमा सवै कुरा समेटिएको छ ।

मिडिया हाउसले डाइरेक्ट क्लाइन्टसँग विज्ञापन ल्याउने क्रम बढेको छ, यसले एजेन्सीलाई कस्तो समस्या परेको छ ?

एड एजन्सी र मिडिया हाउबीचको सम्वन्ध नजिकको हो । तर, मिडियाले भने एजेनसीको सहयोग नलिइ डाइरेक्ट विज्ञापन लिन थालेका छन् । यो दिर्घकालिन समाधान होइन । विज्ञापन व्यवसायीको साथ सहकार्य र सहयोग बाट नै मिडिया हाउस अघि बढ्न सक्छन् । मिडियाले डाइरेक्ट मार्केटीङ गर्न सक्छन् तर डाइरेक्ट रिलिज भने एजेन्सीकै माध्यमबाट गर्नु उपयुक्त हुन्छ । हामीले सवै मिडियालाई बुझाउने कोशिस गरेका छौं । यो सुरक्षित तरिका पनि हो ।

नेपाली विज्ञापनमा मौलिकताको कमी छ भन्ने चर्चा छ नि, किन होला ?

नेपाली विज्ञापनमा मौलिकताको कमी छ भन्ने कुरा म मान्दिन । यसमा कुनै सत्यता छैन । विज्ञापन एजेन्सिहरुले आफ्नो कला र लक्षित बर्गको आकर्षणलाई मध्यनजर गरेर नै विज्ञापन तयार गरेका हुन्छन् । लक्षित समुह भन्दा बाहिरकाले विज्ञापन नबुझ्दा यस्ता कुरा आएका हुन् ।

व्यवसायिक र गुणस्तरीय विज्ञापन बजारका लागि नेपालमा दक्ष जनशक्तिको अभाव छ भनिन्छ नि ?

विज्ञापनमा मात्र होइन देशमा हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । विज्ञापन बजारमा पैसा तथा ग्ल्यामरको कमिले पनि यस्तो समस्या देखिएको हो । विज्ञापनमा यी दुईको भुमिका निकै गहन हुन्छ । पैसा र ग्ल्यामरको राम्रो व्यवस्था भएमा विज्ञापनमा दक्ष जनशक्तिको अकर्षण बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्