राङडोल लामा
मकवानपुर । उपत्यकाको व्यस्त दैनिकी अनि कोलाहलपूर्ण आवादी । आनन्द रमाउन खोज्ने मनले सहरभित्र मुस्किलले शान्ति पाउँछ । यस्तैमा उपत्यका आसपास घुम्ने र एक दिन भएपनि बास बस्ने चलन बढ्दो छ । नगरकोट, धुलिखेल यसरी घुम्नेको पहिलो रोजाइ बनेपनि यसको विकल्पको खोज्नेको सङ्ख्या पनि उत्तिकै छ ।
कुन्छाल गाउँ ः त्यसरी विकल्प खोज्नेका लागि उपयुक्त गन्तव्य बन्न सक्छ । काठमाडौंबाट करिब तीन घण्टामै पुग्न सकिने कुन्छाल गाउँ शान्त वातावरण मन पराउनेले पुग्नै पर्ने ठाउँ हो ।
उपत्यका नजिकको यो गाउँले बस्ती स्थानीय परिवेश बुझ्न चाहने जोकोहीले पनि आफ्नो ‘ट्राभल लिष्ट’मा राख्न सक्छन् । गाउँ भित्रने पर्यटकका लागि होमस्टेको सुविधाले स्थानीय आतिथ्यताको आनन्द यहाँबाट लिन सकिन्छ ।
काठमाडौंबाट चन्द्रागिरी हुँदै जाँदा तीन घण्टामा पुग्न सकिने यो गाउँमा अहिले सडक विस्तारको काम भइरहेको छ । त्यसपछि भने एक घण्टा आसपासमै यहाँ पुग्न सकिन्छ ।
दुई शताब्दीका एकनासे घर
परम्परागत शैलीका एकनासका घर कुन्छाल गाउँको प्रमुख आकर्षण बनेको छ । त्यसो त पर्यटकलाई विभिन्न नृत्य गरेर तथा गीत गाएर पनि आकर्षित गर्न माहिर छन् कुन्छालबासी ।
कुनामा लुकेर रहेको गाउँ भएकोले कुन्छाल गाउँ नाम रहेको किम्बदन्ती छ । पश्चिम कुन्छाबाट आएर बसेकोले पनि कुन्छाल गाउँ रहेको भनाइ पनि व्याप्त छ । स्थानीय लक्ष्मण गोपाली भने आफ्ना बाउ बाजेहरु काठमाडौंबाट बसाँइ सरेर आएको बताउँछन् ।
यहाँको प्रमुख विशेषता भनेको एकै किसिमका घर नै हो । यहाँ करिब २ सय बर्ष भन्दा अगाडीका उस्तै शैलीका घर देख्न सकिन्छ । धेरै पुरानो घर भए पनि भुकम्पले भने खासै असर गरेको पाइदैन ।
गाउँमा करिब ६० ओटा घर छन् । बस्तीका हरेक परिवार गोपाली थरका छन् । आफुहरु कृष्णको गोठालो भएको हुनाले त्यस बेला ग्वाली भनेर चिनिने र लालपुर्जामा समेत ग्वाली नै रहेको स्थानीय बताउँछन् । पछी आएर रामलाल गोपाली प्रधानपञ्च भए पछी गोपाली थर राखेको कान्छा काजी गोपालीले बताए ।
कुन्छाल गाउँबासी अलि परम्परामा विश्वास राख्छन् । यहाँ कुखुरा नपाल्ने तथा पालेको खण्डमा अनिष्ठ हुने किम्बदन्ती छ । त्यस्तै उनीहरु मन्दिर वरपरको जंगलको काठ दाउरा समेत प्रयोग गर्दैन । एक पटक एकजनाले काठ काटेर विक्री गर्छु भनेपछी सबैको सहमतीमा दिइएको थियो । तर त्यो गाउँका मान्छे ठुलो बिरामी परेको भन्दै आधा काठ जंगलमै कुहाएर राखिएको थियो ।
फरक संस्कृति
गोपालीहरुको आफ्नै संस्कृति छ । यहाँ हरेक वर्ष कात्तिक महिनाभर भजन हुन्छ । त्यस्तै असार सकिएसँगै झयाउडी चाड मान्ने चलन छ ।
हरेक १२ वर्षमा काम्सिङ नाच दुई रातसम्म नाच्ने चलन पनि छ । काम्सिङ नाच ५ जना नाईके र १० जना कजीको समुहले सञ्चालन गर्छन् । नाचको भोलीपल्ट कजीहरुले १२ वटा बोका तथा रागाँको बलि दिने प्रचलन छ ।
कृषिकै भर
नेपालका अन्य गाउँजस्तै यो गाउँका अधिकांश युवा खाडी मुलुकतिर गएका छन् । यहाँका बासिन्दाको मुख्य पेसा भनेकै कृषि हो । विस्तारै यहाँका कृषकहरु आधुनिक तरकारी खेतीतर्फ पनि आकर्षित हुन थालेको देखिन्छ । स्थानीय सञ्जय गोपालीका अनुसार यहाँ उत्पादन गरेको तरकारी विक्रीका लागि हेटौडा, पोखरा तथा काठमाडौंसम्म पुर्याउने गरिन्छ ।
काम्सिङ नाचले स्वागत
कुन्छाल गाउँमा आउने पाहुनालाई स्थानीय चामलको भात, दाल तरकारी, गुन्द्रुक खोले भटमासको अचार र टिम्मुरको अचार खुवाएर स्वागत गरिन्छ । यहाँ बस्नको लागि एक रातको नेपालीका लागि १२ सय र विदेशी पर्यटककोे लागि भने १५ सय रुपैंया तोकिएको छ । त्यस्तै स्थानीयले मायाको चिनोको रुपमा मुलाको सन्चना पठाउने गर्छन् । सिस्नो, टिम्मुर तथा ओखलमा कुटेको चिउरा यहाँको विशेष खाना हुन् । खानाको साथमा काम्सिङ नाँचले पाहुनालाई दिने मनोरञ्जन अर्को आकर्षण हो ।
देउटवाँ अर्थात कटुवाल
दूरसञ्चार क्षेत्रको व्यापक पहुँच बढ्दै गदौपनि यहाँ भने अझै पनि सूचना आदानप्रदान गर्न डाँडामा पुगेर ठूलो स्वरले बोलाएर मान्छे भेला गरिन्छ ।
कसैको घरमा पुजाआजा गर्नेदेखि मेला पात गर्ने गुठीको काम गर्न समेत गाउँको सिरानमा रहेको देउटवाँमा पुगेर नाईकेले उर्दी लगाए पछी सबै जना भेला हन्छन् । भेलामा समावेश नहुने परिवारलाई दण्ड जरिवानासमेत हुने नाईके गौरीदास गोपालीले बताए ।