रमेश लम्साल
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २ अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । आयोजना प्रभावित र सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो ।
राष्ट्रिय गौरवको सो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।
माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।
आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ ।
स्थानीय बासिन्दाले रु १ अर्ब ५ करोड ९० लाख बराबरको रु एक करोड पाँच लाख ९० हजार कित्ता साधारण शेयर पाउने व्यवस्था गरिएको छ ।
यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत अर्थात रु १ अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्ने छ ।
स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ ।
कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । केही दिनमा बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
शेयरमा आवेदन दिन अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता) अनिवार्य रुपमा खोल्नुपर्ने छ । आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।
कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् ।
दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । रासस