फेसबुकले मंगलबार एक ब्ल जारी गर्दै वित्तीय सामग्रीको प्रवर्धन गर्ने विज्ञापन निषेध गर्ने नीति लागु गर्न लागेको जनाएको छ । यस अन्तर्गत बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सी र प्रारम्भिक सिक्का पर्दछन् । यस्ता सिक्का जसले मानिसलाई क्रिप्टोकरेन्सीको खरिदको अवसर उपलब्ध गराउँछ ।
नयाँ नीति आफ्ना प्रयोगकर्ताबाट फाईदा लिने ‘स्क्यामर’लाई निषेध गर्न ल्याइएको फेसबुकले स्पष्ट पारेको छ । फेसबुकले आफ्नो ब्लगमा ‘अवकाशको रकम बिटक्वाइनमा प्रयोग गर्नुस’ जस्ता विज्ञापन राख्न स्विकृती नदिने जनाएको छ ।
बिटक्वाइन तथा अन्य डिजिटल सिक्कामा आम मानिसको आकर्षण बढ्न थालेपछि फेसबुकमा यसलाई प्रवर्धन गर्ने विज्ञापन पनि निरन्तर बढीरहेको छ । गत डिसेम्बरमा बिटक्वाइन प्रतिको आकर्षण बढेर यसको मूल्य १७ हजार डलरसम्म पुगेको थियो । तर यसको मूल्य अहिले १० हजार डलर आसपासमा कायम छ ।
हालैको एउटा अनुसन्धानले स्क्यामरहरु क्रिप्टोकरेन्सी बारे सामाजिक सञ्जालमा गलत प्रचार गरेर यसको मूल्य बढाउन लागिपरेको निष्कर्ष निकालेको थियो ।
‘हामी विना कुनै त्रास र गलत प्रचार विना मानिसहरुले फेसबुक विज्ञापनमार्फत नयाँ बस्तु तथा सेवाको जानकारी लिन सकुन् भन्ने चाहन्छौं’ फेसबुकका उत्पादन व्यवस्थापन निर्देशक रोम लेथर्नले उक्त ब्लगमा लेखेका छन् ‘कतिपय कम्पनीले क्रिप्टोकरेन्सी लगायत विश्वासयोग्य नरहेका मुद्राको विज्ञापन गरिरहेको हाीले पाएका छौं ।’
फेसबुकका प्रवक्ताले नयाँ विज्ञापन नीति स्वचालित अथवा म्यानुअल समिक्षाका आधारमा कार्यान्वयनमा आउनेछ । कुनै विज्ञापनमार्फत जसको मूख्य वेबसाईटमा क्रिप्टोकरेन्सीको व्यापार मोडल रहन्छ त्यसलाई स्विकृती नगरिने उनको भनाइ छ । फेसबुक प्रयोगकर्ताले पनि यदि कुनै विज्ञापनले नयाँ नीति विपरित काम गरिरहेको पाइएको छ भने त्यसमा रिपोर्ट गर्न सक्ने फेसबुकले जनाएको छ । -एजेन्सी