काठमाडौं । नेपाल औषधी लिमिटेडले माघदेखि सिटामोलको उत्पादन शुरु गर्ने भएको छ । असोजदेखिनै बजारमा ल्याउने भनिएपनि बाहिरबाट सामान आउन ढिलाई भएपछि उत्पादन शुरु नभएको कम्पनीका महाप्रबन्धक रोभस कुसुम सुवेदीले जानकारी दिए ।
भन्सारमा सामान रोकिदा समस्या भएको हो । त्यस्तै सरकारले १४ करोड ६५ लाख रुपैयाँ दिने भनेकोमा ६ करोड ४८ लाख मात्र निकासा गरेकोले पनि औषधी उत्पादनमा ढिलाई भएको सुवेदीले जानकारी दिए ।
उनका अनुसार कम्पनीलाई अन्य औषधी उत्पादनका लागि थप१० करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ ।
हाल सिटामोल उत्पादनका लागि आवश्यक मेसिन जडानको काम सकिएको उनले बताए । सुवेदीका अनुसार माघदेखि बजारमा ल्याउन लागिएको सिटामोटलको मूल्य १ रुपैयाँ तोकिएको छ ।
कम्पनीको बजारमा अत्याधिक माग भएका अन्य १५ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य अनुरुप प्रत्येक महिना १ औषधी उत्पादन गर्दै जाने छ ।
यता रेविज र एन्टिभेनम उत्पादनका लागी ठूलो लगानी लाग्ने भएकोले हाल उत्पादन गर्न नसकिने भएको सुवेदीले बताए ।
जसअनुसार प्रति व्याचमा ३ लाख २० हजार ट्यावलेट उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । नेपाल औषधि कम्पनी २०६६ सालदेखि बन्द रहेको थियो । बन्द अवस्थामा रहेको सो उद्योगलाई तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीको पहलमा पुनः सञ्चालनमा आएको हो ।