काठमाडौं । स्वदेशी जुत्ताहरुको प्रवद्र्धन गर्ने उद्देश्यसहित फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ । स्वदेशी जुत्ताहरुलाई एकै छानामुनी ल्याइ प्रवद्र्धन गर्न औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए । सो कार्यका लागि अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय तथा उद्योग मन्त्रालयसँग छलफल भइरहेको उनले बताए ।
व्यवसायीले जग्गा खरिद गर्ने र सरकारले त्यहाँ आवश्यक पूर्वाधारको व्यवस्था गर्ने लगायतबारे छलफल भएको श्रेष्ठले जानकारी दिए । ‘त्यसमा उद्योगी र सरकार पक्ष दुवै सहमत छन्,’ उनले भने । सहमती अनुसार सरकारले फुटवेयर औद्योगिक क्षेत्रसम्म पुग्ने बाटो, पानी, बत्ती र तालीमका लागि इन्स्टिच्युटलगायतको व्यवस्था गर्ने छ ।
उनका अनुसार औद्योगिक क्षेत्रका लागि फूटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जग्गा खोजीको कार्य शुरु गरिसकेको छ । जसअनुसार उद्योगीहरुले काठमाडौंको करिव २० किलोमिटर वरिपरि जग्गा खरिद गर्ने छ ।
काठमाडौं वरिपरी धादिङ, मकवानपुर, काभ्रे वा नुवाकोटमा औद्योगिक क्षेत्र स्थापना गरिने उनले जानकारी दिए । उनका अनुसार सस्तो मूल्यमा जुन ठाउँमा जग्गा पाइन्छ त्यही औद्योगिक क्षेत्र स्थापना गरिने छ । औद्योगिक क्षेत्रका लागि ७ सय देखि ९ सय रोपनी जग्गा आवश्यक पर्ने अध्यक्ष श्रेष्ठले बताए ।
औद्योगिक क्षेत्रमा विशेषगरी कच्चा पदार्थ उत्पादन, तालिम केन्द्र, सामूहिक सुविधा केन्द्र स्थापना, सोल रबर उद्योग पनि स्थापना गरिनेछ । पहिलो चरणमा एसोसिएसनसँग आवद्ध ८३ व्यवसायीको औद्योगिक क्षेत्रमा राख्ने एसोसिएसनको योजना छ ।
त्यसपश्चात् दोस्रो चरणमा अर्काे संघ नेपाल छाला जुत्ता उत्पादक संघलाई पनि समेट्ने अध्यक्ष श्रेष्ठले बताए । औद्योगिक क्षेत्र सञ्चालनमा आएसँगै १५ देखि २० हजार जनाले रोजगारी पाउने उनले जानकारी दिए ।
औद्योगिक क्षेत्रमा विशेषगरी महिलाहरुलाई प्राथमिकतामा राखिने छ । जसअनुसार औद्योगिक क्षेत्रमा मन्टेश्वरी स्कुल पनि सञ्चालन गरिने छ । त्यस्तै स्वास्थ्य चौकीको व्यवस्था पनि गरिने उनले जानकारी दिए ।
हाल नेपालभर कुल १५ सय जुत्ता उद्योगहरु रहेका छन । यी उद्योगहरुमा ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । त्यस मध्ये १६ हजार (३२ प्रतिशत) महिला कामदार रहेका छन । यी उद्योगहरुमा करिव १९ अर्व ९४ करोड रुपैयाँ बरावरको लगानी रहेको छ एशोसिएशनले जानकारी दिएको छ ।