Logo

ब्रोकरले पाए मार्जिन कारोबार सुविधा, १० हजार सेयरधनी र १० प्रतिशत लाभांस आवश्यक

ब्रोकरले पाए मार्जिन कारोबार सुविधा, १० हजार सेयरधनी र १० प्रतिशत लाभांस आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कोरोबार सुविधा सम्बन्धी निर्देशिका जारी गरेको छ । धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार तथा अन्तरराष्ट्रिय मूल्य र मान्यता अनुरुपको मार्जिन कारोवार शुरु गर्न ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७४’ जारी गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले ल्याएको नयाँ निर्देशिकासँगै अब ब्रोकर कम्पनीले मार्जिन ल्याण्डिङ जारी गर्न पाउने भएका छन् । यस व्यवस्थाले पूँजी बजार थप सरल र सहज हुने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । ‘यो निर्देशिकाले एक तहको ढोका खुला गरिदिएको छ,’ उनले भने, ‘अब ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङमा लगानी गर्न दिनमा लागि राष्ट्र बैंकले पनि बाटो खुला गरिदिनुपर्छ ।’

निर्देशिका अनुसार कम्तिमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक बर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचिकृत संस्थाको मात्र मार्जिन कारोबार गराउन सकिनेछ । यस्तै मार्जिन कारोबार गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पती न्युनतम ५ करोड रुपैयाँ हुनुपर्नेछ ।

यस्तै धितापत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्ममात्र मार्जिन कारोवार सुविधा उपलब्ध गराउन छन् । तर, सो व्यवस्था भने नेपालको पूँजी बजार विस्तार र विकासका लागि उपयुक्त नभएको पौडेललेको तर्क छ । ‘एउटा ब्रोकर कम्पनीको नेटवर्थ ५ करोड रुपैयाँ हुन्छ,’ उनले भने, ‘यसैलाई आधार बनाएर लगानी गर्ने हो भने एउटा ब्रोकरले जम्मा १० करोड रुपैयाँमात्र लगानी गर्न सक्नेछ ।’

ब्रोकरले मार्जिन ल्याण्डिङ दिदा १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुनआउने रकम मात्र ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिन पाउनेछन् । साथै ब्रोकरले मार्जिन कारोबार सुविधा अवधि भर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनसक्ने निर्देशिकामा उल्लेख छ ।

त्यस्ता खालका मार्जिनका लागि ब्रोकरले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग कर्जा लिएर कारोबार गर्न सक्नेछन् । तर कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आप्mनो नेटवर्थको वढीमा १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइनेछैन ।

ब्रोकरले मार्जिन कारोवार सुविधा उपलव्ध गराउदा ग्राहकसँग सम्झौता गरी शूरु मार्जिन, संभार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरीद गर्ने सेयरको विवरण इत्यादि शर्तरव्यवस्थाहरु खुलाउनु पर्नेछ । साथै उक्त सुविधा अन्तरगत खरिद गरिएको सेयरसहितको मार्जिन रकम विवरण बनाई छुट्टै अभिलेख राख्नुपर्नेछ । त्यसरी गरिएको कारोबारको हिसाव किताव तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्