Logo

साढे १३ अर्बको वस्तु बाहिरिदा १ खर्ब ६५ अर्बको भित्रियो

साढे १३ अर्बको वस्तु बाहिरिदा १ खर्ब ६५ अर्बको भित्रियो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ को पहिलो दुई महिनामा कुल वस्तु निर्यात ३ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा नेपालबाट १३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो । जुन अघिल्लो आवको सो अवधिको तुलनामा कम हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७ दशमलब ७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा भारततर्फ ३ दशमलव ३ प्रतिशतले निर्यात घटेको छ । यता चीनतर्फ ४४ दशमलव ६ प्रतिशत र अन्य मुलुकतर्फ ९ दशमलव ७ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पशु आहार, धागो, तयारी पोशाक, पिना, वनस्पती घ्यूलगायत वस्तुको निर्यात बढेको नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार जुस, अलैची, उनी गलैचा, जि.आई. पाइप, टूथपेष्ट लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

यता २ महिनामा कुल वस्तु आयात ११ प्रतिशतले बढेर रु. १ खर्ब ६५ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३ दशमलब ४ प्रतिशतले वृद्धि भएको थियो । समिक्षा अवधिमा भारतबाट भएको आयात ८ दशमलब १ प्रतिशत, चीनबाटको आयात २६ दशमलब ३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १० दशमलव ७ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपूर्जा, सुन, सिमेन्ट, सञ्चारका साधन तथा पूर्जा लगायतका वस्तुको आयात बढेको छ । कृषि औजार तथा पार्टपूर्जा, खाने तेल, चाँदी, सेनीटरी वेयर्स, विद्युतीय सामाग्रीलगायत वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा बीरगञ्ज भन्सार, सुख्खा बन्दरगहा भन्सार, भैरहवा भन्सार, कृष्णनगर भन्सार र कैलाली भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ । अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र कन्चनपुर भन्सारबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ११ दशमलव ८ प्रतिशतले बढी रु. १५१ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ४८.१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL