काठमाडौं । उद्योग मन्त्री सुनिलबहादुर थापाले उद्योग सञ्चालन गर्ने काम सरकारको नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल अमेरिका व्यापार विस्तारसम्बन्धी एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै यस्तो बताएका हुन् । ‘सरकारले मार्ग निर्देश गर्ने मात्र हो,’ उनले भने, ‘उद्योग चलाउने काम निजी क्षेत्रकै हो ।’ साथै सरकारले नीति नियम तथा कानुन बनाएर उद्योग सञ्चालनको वातावरण तयार गर्न सहयोग गर्ने जानकारी दिए ।
मन्त्री थापाले अबका दिनमा उद्योगीहरुले देशको राजनीतिक अवस्थालाई दोष देखाएर पन्छिन नमिल्ने बताए । कुनै पनि देशको राजनीतिक अवस्थाले उद्योगलाई असर नपार्ने भन्दै उद्योगीहरुलाई अनावश्यक आरोप नलगाउन सुझाव दिए । तर, अन्तरमन्त्रालय समन्वयमा भने समस्या भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेपट्जिले नेपालले आर्थिक अवसरहरु सृजना गर्नुपर्ने बताइन् । ‘२०३० सम्ममा विकाशिल राष्ट्रका रुपमा परिवर्तन हुन धेरै आर्थिक अवसर सृजना गर्नुपर्ने देखिन्छ,’ उनले भनिन् । सोका लागि सरकारले लगानी तथा आर्थिक बृद्धिको वातावरण तयार गर्नुपर्ने जानकारी दिइन् ।
यसैगरी वाणिज्य सुविधाको उपयोग गरी नेपालले फाइदा लिनुपर्ने उनको भनाइ थियो । ‘अमेरिकी बजारमा आएर बिक्री गर्नुहोस भनेर नेपाललाई अवसर दिएका छांै, धेरै सोचेर मात्र त्यो अवसर दिएका हौ,’ं उनले भनिन्, ‘तयारी उत्पादन पठाएर अमेरिकी ग्राहकलाई सुविधा दिनुहोस ।’
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले नेपालले अमेरिकाले दिएको व्यापार सुविधाको पूर्णरुपमा उपयोग गर्न अग्रसरता देखाउनु पर्ने बताए । साथै सानो लगानीमा धेरै उत्पादन गर्न सकिने वस्तुलाई केन्द्रित गर्न समेत उनको सुझाव थियो ।
सो अवसरमा पेभिलियन समुहका अध्यक्ष नरेश श्रेष्ठले कार्यशालामा ७७ उत्पादनमा के कस्ता सुविधा उपलब्ध गराइएको छ भन्ने बारे छलफल गरिने बताए । साथै नेपालले पाइरहेको सुविधाको कसरी उपयोग गर्न भन्ने विषयमा समेत छलफल गरिने भएको छ ।
यसैगरी इन्टिच्युट फर स्ट्राट्जिक एण्ड सोसियो इकोनोमिक रिसर्च ‘आइएसएसआर’का कार्यबाहक अध्यक्ष गोविन्द नेपालले नेपालबाट बाहिर आउँदा बिभिन्न समस्या भएको र त्यसबारे सरकारले चासो दिनु आवश्यक रहेको बताए ।