काठमाडौं । काठमाडौं महानगपालिकाले खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखान आग्रह गरेको छ । रातो रङ लगाएको खसीबोका अस्वस्थ हुनेभन्दै त्यस्तो आग्रह गरेको हो ।
दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरू गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसी बोकाको मात्र मासु खान अनुरोध गरेको छ।
कामपाले गत वर्षजस्तै यो वर्ष पनि खसीबोको परीक्षण शुरू गर्ने भएको छ। राजधानीमा खसीबोका भित्रने नाकामा कडा चेकजाँच गरी परीक्षण गरिएको मात्र खसीबोकाको मासु खान अनुरोध गरेको कामपाले यो वर्ष असोज २ गतेदेखि परीक्षण शुरू गर्ने भएको छ।
चारवटा अनुगमन समिति बनाएर चार क्षेत्रमा अनुगमन गर्ने तयारी भइरहेको छ। राजधानीको कलंकी, कोटेश्वर, बागबजार र बिजुलीबजारस्थित खसीबोका बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने भएको हो ।
कामपाले खसी–बोका व्यवस्थापन समिति, चार क्षेत्रका व्यापारी, र सरोकारवालासँग छलफल गरी व्यापारलाई व्यवस्थित गर्ने तयारी गरेको छ। खसी–बोका मात्रै नभएर मिष्ठान्न पदार्थ, खाद्यान्न र पेय पदार्थको समेत अनुगमन गरिने जानकारी दिएको छ ।
कामपा जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले कामपाको संयोजनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वाथ्य कार्यालय र भेटनरी कार्यालयको संयुक्त कार्यदल बनाएर खसी–बोका परीक्षण गरिने जानकारी दिए । ‘गतवर्षभन्दा यस वर्ष थप व्यवस्थित तरिकाले अनुगमन र खसी–बोकाको स्वास्थ्य परीक्षण गर्नेछौं’ उनले भने । गत वर्ष कामपाले राजधानीको विभिन्न चार स्थानमा करिब ४५ हजार खसी–बोकाको स्वास्थ्य परीक्षण गरेको थियो।
यो वर्ष करिब ५० हजार खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने तयारी कामपाले गरेको छ।कामपाले घटस्थापनाको अघिल्लो दिनसम्म स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ।