काठमाडौं । नेपाल टेलिकमले सिडिएमए सेवालाई फोरजी /एलटीई (लङ टर्म इभोलुसन) मा रुपान्तरण गर्ने भएको छ । वायरलेस सेवाको दिर्घकालिन विकासको कार्य योजना अनुरुप सिडिएमए तथा वाइम्याक्स सेवाहरुलाई फोरजी सेवामा रुपान्तरण गर्ने तयारी थालिएको कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् । ‘सबै प्रविधिलाई भविष्यमा समयानुकुल रुपान्तरण गर्ने रणनीति अनुरुप सिडिएमए र वाइम्याक्सलाई फोरजीमा रुपान्तरण गर्न लागेका हौ’ उनले भनिन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मान कार्यक्रममा उनले यस्तो जानकारी दिएकी हुन् । सो अबसरमा प्रबन्ध निर्देशक राजभण्डारीले आर्थिक बर्ष २०७४ /७५ मा कम्पनीको सेवा विस्तार र गुणस्तर सुदृढीकरणका लागि सम्पन्न गर्ने लक्ष्य अनुरुप सिडिएमएमा फोरजी उपलब्ध गराउन लागेको बताइन् ।
साथै चालु आवमा हाल उपलब्ध आइपी सिडिएमए तथा वाइम्याक्स प्रविधिका उपकरणहरु उपयोग गर्ने कार्यलाई निरन्तरता दिने जानकारी दिइन् ।
टेलिकमले दुर्गम क्षेत्रलगायत आवश्यकताअनुसार स्थानहरुमा ब्रोडब्याण्ड सेवा पुर्याउने, सार्वजनिक यातायतका साधनमा इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
टेलिकमले आगामी दिनमा डाटा सेवाको विस्तारका लागि वायरलाइन तथा मोबाइल डाटा सेवालाई अझ बढी सुबिधा र सहजताका साथ ग्राहक माझ प्रस्तुत गर्ने बताएको छ । साथै ग्राहकको चाहना अनुरुप नयाँ डाटा प्याकेजहरु ब्जारमा ल्याई डाटा सेवाबाट कम्पनीको आम्दानी बढाउने पहल हुने जानकारी दिएको छ ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले टेलिकमले गुणस्तरिय सेवा दिनुका साथै नाफामा पनि अन्य प्रदायकसँग प्रतिशपर्धा गर्नुपर्ने बताए । सो अबसरमा मन्त्री बस्नेतले टेलिकमको सेवा अन्य प्रदायक नपुगेको ठाउँमा पुर्याउन सुझाए ।
त्यस्तै नतिजा आउने काम मात्र गर्न निर्देशन दिए । ‘संस्थालाई अघि बढाउन टिम स्प्रीट हुनुपर्छ,’ उनले भने ‘१ बर्षमात्र इमान्दारितका साथ काम गरेपनि अघि बढ्न सकिन्छ ।’ सो अबसरमा सचिव महेन्द्रमान गुरुङले दुर्गममा पनि सेवा पुर्याएर धेरै नाफा दिने कम्पनी बन्न सक्नुपर्ने बताए । साथै उनले २०७४÷०७५ टेलिकमका लागि ऐतिहासिक बर्ष बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा टेलिकमको सेवा सुविधालगायत सम्बन्धमा आमसञ्चारमाध्यममा उत्कृष्ट समाचार प्रकाशित गरेको भन्दै ३ जना पत्रकारलाई सम्मान गरिएको थियो । टेलिकमले गोरखापत्र दैनिकका विश्वास रेग्मी र नागरिक दैनिकका सञ्चारकर्मीद्धय सन्तोष न्यौपाने र सन्तोष पोखरेललाई सम्मान गरेको हो । उनीहरुलाई सञ्चारमन्त्री बस्नेतले खादा, सम्मानपत्र तथा ट्रफी प्रदान गरेका थिए ।