Logo

सुनचाँदीमा भारतीय कालिगढ, बार्षिक ३० अर्व रेमिट्यान्स बाहिरिँदै

सुनचाँदीमा भारतीय कालिगढ, बार्षिक ३० अर्व रेमिट्यान्स बाहिरिँदै


रामराजा श्रेष्ठ
27
Shares

 रक्षा रेग्मी

१९ माघ ,काठमाडौं । नेपाली गहना उद्योग भारतीय कालिगढमा निर्भर छ । हाल सुनचाँदी व्यवसायमा संलग्न ७५ प्रतिशतभन्दा बढी कालिगढ भारतीय नागरिक भएको विभिन्न तथ्यांकले देखाएको छ । अन्य २५ प्रतिशत कालिगढमात्र नेपाली रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले बताए ।

उनका अनुसार हाल सुनचादीँ व्यवसायमा २ लाखभन्दा बढी कालिगढ संलग्न छन् । त्यसमध्ये १ लाख ५० हजारभन्दा  कालिगढ भारतीय  छन् । एउटा कालिगढको कमाइ मासिक सरदर २० हजार रुपैयाँ हुँदा पनि ती कालिगढले नेपालबाट वार्षिक ३० अर्व रुपैयँभन्दा बढी पैसा लैजाने गरेको व्यवसायीहरुको भनाइ छ । ‘एउटा कालिगढले मासिक १० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म कमाउँदै आएका छन्,’  शाक्यले भने, ‘सो वापत नेपालबाट वार्षिक अर्वौ रुपैयाँ रेमिट्यान्स वाहिरीरहेको छ ।’ सो रकम गैर बैंकिङ च्यानलबाट भारततर्फ गइरहको सरोकारवालाहरु बताउँछन् । महासंघका अनुसार हाल देशभर १८ हजार सुन पसल छन् ।

नेपाली कालिगढहरुमा परम्परागत गहनाको मात्र शिप भएकोले यस क्षेत्र भारतीय कालिगढमा निर्भर भएको उनले जानकारी दिए ।   ‘बजारमा फेन्सी तथा भारतीय गहनाको माग बढी छ,’ उनले भने , ‘तर, नेपाली कालिगढमा त्यो शिप छैन ।’ नेपाली कालिगढमा फेन्सी गहना बनाउने शीप नभएकै कारण भारतीय कालिगढमा निर्भर रहनुपरेको उनको भनाइ छ ।

नेपाली कालिगढहरु तुलनात्मक रुपमा भारतीय भन्दा कम सक्रिय रहने समेत उनले जानकारी दिए । ‘भारतीय कालिगढहरु काममा दिनरात खट्छन् तर नेपाली ६ घण्टा पनि काम गर्न सक्दैनन्,’ उनले भने । देशमा बेरोजगार युवहरुको संख्या बढेपनि उनीहरु यो व्यवसायमा संलग्न हुन नचाहेको उनको भनाइ छ ।

यता नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन भने काम गर्ने वातावरण नभएको कारण यस क्षेत्रप्रति नेपालीहरुको आकर्षण घटेको बताउँछन् । ‘नेपालीहरुसँग शीप र चाहना दुवै छ तर ज्यालाको कुनै नीति नहुँदा यस क्षेत्रप्रति आकर्षण घटेको हो,’ उनले भने, ‘यस पेशामा काम अनुसारको ज्याला नदिइने हुनाले पनि कालिगढहरु अन्य क्षेत्रतिर जान बाध्य भएका छन् ।’

उनका अनुसार नेपाली गहनाको माग बढेपनि दक्ष जनशक्तिको अभाव भएकाल भारतीय कालिगढमा भर पर्नु परेको छ । पछिल्लो समय नेपाली बजारमा भारतीय गहनाको माग बढेको उनले जानकारी दिए । ‘हाल हिन्दी फिल्म तथा सिरियलमा प्रयोग गरिने गहनाको माग बढेको छ,’ उनले भने ।

महासंघले यस क्षेत्रका लागि स्वदेशी जनशक्ति तयार गर्न २०६० सालमा सरकारसँग समन्वय गरेर तालीम दिएको थियो । तर, नेपाली युवाले चासो नै नदेखाएपछि २०६५ मा बन्द भएको शाक्य बताउँछन् । उनका अनुसार  त्यस अवधिमा १ सय २५ जनाले मात्र तालीम लिएका थिए ।

तर महर्जन भने सानो स्केलमा तालीम दिइएकोले उपयोगी नभएको बताउँछन् । आगामी दिनमा सरकारले तालीम केन्द्र खोलेर युवाहरुलाई गहना बनाउने तालीम दिनुपर्ने तथा नेपाली गहनाको व्राण्डिङ गर्नुपर्ने अध्यक्ष महर्जन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्