Logo

काठमाडौं महानगरको पौने ९ अर्बको बजेट, प्राथमिकतामा स्मार्टसिटी देखि मनोरेलसम्म, स्वेच्छिक कर नीति

काठमाडौं महानगरको पौने ९ अर्बको बजेट, प्राथमिकतामा स्मार्टसिटी देखि मनोरेलसम्म, स्वेच्छिक कर नीति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आजबाट शुरु भएको काठमाडौं महानगरको नगर सभामा मेयर विद्यासुन्दर शाक्यले आगामी आबमा स्मार्ट सिटीदेखि मनोरेल र केबलकारसम्मका योजनाहरु सार्बजनिक गरेका छन् । सो नगरसभाको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

शाक्यले आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ई–ट्वाइलेट निर्माण, भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङ तथा निजी तथा साना सवारी साधनहरुको प्रयोगलाई निरुत्साहित गरी महानगरबासीलाई सार्वजानिक यातायातको अधिकतम उपयोग गर्न आधुनिक र सुविधायुक्त बससेवा संचालनमा ल्याउनेब बताएका छन् । सो कार्यका लागि बस र्यापिड टान्जिट, मोनो रेल, सिटी केवल कार, ट्राम, र मेट्रो जस्ता बिभिन्न प्रकारका बिकल्पहरुको अध्ययन गरी उपयुक्त र बृहत्तर शहरी यातायात योजना बनाई लागू गरिने उनको नीति तथा कार्यक्रममा उल्लेख छ । साथै, लगानीमैत्री कर नीति ल्याई करदातालाई प्रोत्साहन गर्ने गरी स्वैच्छिक कर बुझाउने परिपाटीको विकास गरिने समेत उनले जानकारी दिए । आज भएको नगरसभाले भोली महानगरको बजेट सार्बजनिक गर्ने भएको छ । महानगरले आगामी आवको लाग पौने ९ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

वातावरण संरक्षणमा जोड दिंदै महानगर क्षेत्रमा विद्युतीय यातायातका साधनलाई प्रवद्र्धन गरिने बताए । ‘साइकल सिटीको सोच अनुरुप काठमाडौंलाई साइकल मैत्री शहर बनाउन साइकल सिटी गुरुयोजना तयार पारिनेछ,’ उनले भने, ‘यस कार्यक्रमले महानगर भित्र साइकल संजालको योजना बनाउनुको साथै छिमेकी नगरपालिकाहरुसँग समन्वय गरी बृहत्तर साइकल संजाल प्रस्ताव तयार पारी आबश्यक ठाउँमा स्मार्ट साइकल पार्किङ स्टेशन निर्माण गरिनेछ ।’
पार्किङको समस्या हटाउन महानगरपालिकाभित्र स्मार्ट पार्किङ सिस्टम जोड्ने घोषणा गरेका छन् । यसैगरी महानगरपालिका भित्र ५० वटा स्मार्ट र ५० वटा ई–ट्वाइलेट गरी पब्लिक ट्वाइलेटलाई स्मार्ट र इलेक्ट्रोनिक्स प्रविधिको बनाउने बताए ।

महानगरले अबका दिनमा नयाँ प्रविधिमा आधारित होडिङ बोर्डलाई प्रवद्र्धन गर्ने भएको भएको छ भने सेवाग्राहीको उजुरी सुन्न मोबाइल एप प्रयोगमा ल्याइनेछ । त्यस्तै विद्युतीय नक्सापासलाई सरल बनाइ सहज रुपमा सेवा प्रदान गरिने भएको छ ।

त्यसैगरी समाजमा पिछडिएका तथा निम्न आय भएका व्यक्तिहरुका लागि सामुदायिक आवास कार्यक्रम निर्माण गर्न बिस्तृत योजना तयार गर्ने, महानगर क्षेत्रमा यस बर्ष प्रत्येक वडामा कम्तिमा १/१ वटा जेष्ठ नागरिक मनोरन्जन तथा सेवा केन्द्र संचालनमा गर्ने, अपांगता भएका व्यक्तिको हक, हित, सुरक्षा, सम्मान र क्षमता विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

रातो परिचयपत्र प्राप्त पूर्ण अपांगता भएका व्यक्तिलाई महानगरपालिकाबाट विशेष भत्ताको व्यवस्था गर्ने जस्ता कुरालाई पनि प्राथमिकता दिइने भएको छ । साथै, स्वस्थ नागरिक, स्वस्थ महानगर, स्थानीय सरकार, पूर्वाधार विकासको आधार, हाम्रो आवास, मौलिक र सुरक्षित आवास, हाम्रो काठमाडौं, उज्यालो काठमाडौं, सहज, सुलभ, सुरक्षित र व्यवस्थित शहरी यातायातलाई प्राथमिकता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL