Logo

अब विश्वको सबै ठाउँबाट नेपाल एयरलाइन्सको टिकट !

अब विश्वको सबै ठाउँबाट नेपाल एयरलाइन्सको टिकट !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी सातादेखि अनलाइन टिकट बुकिङ सुबिधा प्रदान गर्ने भएको छ । शुरुमा आंशिक रुपमा अनलाइन टिकट बिक्री गर्न लागिएको निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिए ।

अनलाईन टिकट शुरु भएसँगै विश्वका सबै ठाउँबाट नेपाल वायु सेवा निगमको टिकट बुकिङ गर्न सकिने छ । संसारको जुनसुकै कुनाबाट पनि क्रेडिट कार्डबाट भुक्तानी गर्न मिल्ने र अनलाईनबाटै टिकट बुकिङ गर्न मिल्ने भएकोले टिकट खरिद विक्रीमा पारदर्शिता हुने छ । त्यस्तै भनसुनको भरमा टिकट पाइने भ्रमको पनि अन्त्य हुने उनले बताए ।

श्रेष्ठका अनुसार अनलाइन बुकिङ शुरु गरेसँगै निगमको विमानको टिकट लिन कार्यलयसम्म पुग्नुपर्ने बाध्यता हट्ने छ । निगमले अनलाइन बुकिङ तथा गेटवे पेमेन्टका लागि कम्पनी छनौट तथा सम्झौता समेत गरिसकेको छ । टिकट बुकिङ तथा विद्युतीय भुक्तानी प्रणलीको लागि खुल्ला प्रतिस्पर्धाबाट कम्पनी छनौट गरिएको हो ।

अनलाइन टिकट बुकिङ र भुक्तानीको लागि भारतीय र थाइल्यान्डको कम्पनीसँग सम्झौता भएको हो । जसअनुसार अनलाइन बुकिङको लागि भारतको सफ्टवेयर कम्पनी ‘बर्डस’ सफ्टवेयर निर्माणको जिम्मा पाएको छ । त्यस्तै अनलाइन भुक्तानीको लागि थाइ कम्पनीसँग सम्झौता भइसकेको छ ।

बुकिङ र भुक्तानीको लागि अनलाइन प्राणली शुरु भएपछि यात्रुलाई सेवा लिन सहज र सर्वसुलभ हुने निगमले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL