काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल वायु सेवा निगमलाई बिदेशी मुद्रा सटही अनुमती दिएको छ । बैंकले बिहीबार निगमलाई एयरबस जहाज खरिदका लागि डलर सटही अनुमती दिएको हो ।
राष्ट्र बैंकको सहमतिसँगै निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई अग्रीम भुक्तानी (प्रि डेलिभरी पेमेन्ट) गर्ने प्रक्रिया अघि बढाएको निगमका सहप्रवक्ता शैलेश कंशाकारले बताए । ‘सकेसम्म शुक्रबार नै रकम पठाउने तयारी गरेका छौं,’ उनले भने ‘आज नभए सोमबारसम्मा सम्बन्धित कम्पनीलाई रकम पठाउने छौं ।’
निगमले वाइड बडी जहाज खरिदका लागि कम्पनीलाई शुरुमा ८ अर्ब रुपैयाँ भुक्तानी गर्न लागेको हो । नेपाल एयरलाइन्सले एयरबसको वाइड बडी जहाज खरिदका लागि सञ्चय कोषसँग र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैया गरी २४ अर्ब रुपैयाँ ऋण लिनका लागि सम्झौता गरिसकेको छ ।
जसअनुसार निगमले शुरुमा कर्मचारी सञ्चय कोषबाट र नागरिक लगानी कोषबाट ४÷४ अर्ब रुपैयाँ ऋण लिएर एएआर कर्पोरेसनलाई पठाउने छ । निगमलाई लगानी कोष र सञ्चय कोषले ९ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता गरिसकेका छन् । सम्झौता अनुसार निगमले दुबै संस्थालाई १५ बर्षमा ऋण तिर्ने छ ।
निगमले एएआरसँग गत माघ १४ मा जहाज खरिदका लािग समझदारी गरेको थियो । गत फागुन ४ मै निगमले बैना स्वरुप १० करोड रुपैयाँ पठाइसकेको थियो ।
निगमले खरिद गर्न लागेका दुइटा विमानमध्ये पहिलो विमान आगामी मंसिरमा काठमाडौं ल्याइने छ । त्यस्तै अर्को विमान फागुनमा ल्याइने भएको छ । ए ३३०–२०० सिरिजका यी विमानमा २ सय ८० सिट क्षमता हुनेछ ।