Logo

पौने ६ लाख पुग्यो टेलिकमको फोरजी प्रयोगकर्ता

पौने ६ लाख पुग्यो टेलिकमको फोरजी प्रयोगकर्ता


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता संख्या ५ लाख ७४ हजार पुगेको छ । टेलिकमले फोरजी सेवा शुरु गरेको ५ महिनामा यसको प्रयोगकर्ता ५ लाख ७४ हजार पुगेको हो । टेलिकमले हाल काठमाडौं र पोखरामा मात्र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ ।

टेलिकमको प्रिपेड सिमबाट फोरजी चलाउनेको संख्या पोष्टपेडको भन्दा बढी छ । टेलिकमले पोष्टपेडमा सेवा शुरु गरेको १ महिनापछि मात्र प्रिपेडमा फोरजी सेवा उपलब्ध गराएको थियो । तर, प्रिपेडबाट फोरजी चलाउनेको संख्या पोष्टपेडको ८७ प्रतिशतले बढी भएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार टेलिकमको प्रिपेडमार्फत फोरजी चलाउनेको संख्या ४ लाख ९९ हजार पुगेको छ । यता प्रिपेडका फोरजी ग्राहक संख्या भने ७५ हजार ७ सय मात्र छन् । टेलिकमको पोष्टपेड ग्राहकको तुलनामा प्रिपेड प्रयोगकर्ता नै बढी भएकोले प्रिपेडबाट फोरजी चलाउनेको संख्या बढी भएको अधिकारीले जानकारी दिए ।

टेलिकमले गत पुस १७ गतेदेखि पोष्टपेडमा फोरजी सेवा शुरु गरेको थियो । त्यस्तै कम्पनीले आफ्नो बार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि प्रिपेडमा पनि फोरजी सेवा संचालनमा ल्याएको हो ।

टेलिकमले काठमाडौं र पोखरामा पछि पहिलो चरणमा १५ ओटा उपमहानगरपालिकामा फोरजी विस्तार गर्ने योजना राखे पनि हालसम्म शुरु हुन सकेको छैन । हाल ३ महानरपालिकासहित १२ वटा उपमहानगरपालिकामा फोरजी सेवा विस्तार गर्ने गरी टेण्डर डकुमेन्टेशनको काम अन्तिम चरणमा पुगेको अधिकारी बताउँछन् ।

टेलिकमले इटहरी र धरान, जनकपुर, हेटौंडा, भरतपुर, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, ललितपुरलगायत १५ उपमहानगरपालिकामा छिट्टै फोरजी सेवा विस्तारको तयारी थालेको हो । साथै केही नगरपालिकामा पनि सेवा बिस्तारको तयारी गरेको छ ।

व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई आगामी असोज भित्र देशभर फोरजी सेवा पुर्याउन निर्देशन दिएको थियो । तर ५ महिना बाँकी हुँदा अहिलेसम्म उपमहानगरपालिकामै फोरजी सेवा उपलब्ध गराउन सकेको छैन । तर टेलिकमले महत्वपूर्ण शहरमा एकैसाथ फोरजी सेवा उपलब्ध गराउन नेटवर्क डिजाइन गरेको उनले जानकारी दिए ।

सहायक प्रवक्ता अधिकारीका अनुसार काठमाडौं र पोखरामा फोरजी सेवा सुरु भए पछि अन्य जिल्लाबाट धेरै माग आइरहेको छ । अहिले काठमाडौं उपत्यकाको रिङ रोडभित्र, इन्द्रायणी, गोदावरी, गोकर्ण रिसोर्ट क्षेत्र, भक्तपुर र पोखरामा  फोरजी सेवा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्