काठमाडौं । आर्थिक वर्षको पहिलो १० महिनामा राजस्व संकलन २० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिको तुलनामा राजस्व संलकन २० प्रतिशतले बढेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।
तर, चालू आवको लक्ष्यको तुलनामा भने ५ प्रतिशत मात्र बृद्धि भएको देखिन्छ । सरकारले सो अवधिमा १ खर्व ७९ अर्व २८ करोड ४७ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको १ खर्व ८८ अर्व ८५ करोड ७६ लाख ८४ हजार रुपैयाँ संकलन गरेको छ ।
शिर्षकगत रूपमा सबैभन्दा बढी राजस्व आयकरतर्फ रहेको छ । सो अवधिमा आयकरबाट १ खर्व १ अर्व ८१ करोड ७० लाख ३६ हजार रुपैयाँ संकलन गरेको छ ।
जुन रकम लक्ष्यको तुलनामा १ सय ७ प्रतिशतले बढी हो । यसैगरी, मूल्य अभिबृद्धि कर भने बढाउन सकेको छैन । मूल्य अभिबृद्धितर्फ सामान्य बृद्धि गर्दै ४८ अर्व ३२ करोड २४ लाख ११ हजार रुपैयाँ संकलन गरेको छ भने अन्तशुल्कबापट ३७ अर्व २८ करोड ५७ लाख १६ हजार संकलन भएको छ ।
त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ६४ करोड २८ लाख ४० हजार रुपैयाँ र ७८ करोड ९६ लाख ८१ हजार रुपैयाँ संकलन गरेको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १५ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २५ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३२ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २४ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३२ प्रतिशत रहेको छ ।