Logo

गभर्नरले भने, बैंकहरु बढी नाफामुखी भए ‘सीएसआर’मा बृद्धि गर्छौं

गभर्नरले भने, बैंकहरु बढी नाफामुखी भए ‘सीएसआर’मा बृद्धि गर्छौं


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक वित्तीय संस्था बढी नाफा मुखी हुँदै गएको आरोप लगाएका छन् । ‘पछिल्लो समय बैंक वित्तीय संस्था बढी नाफा मुखी भएर शहर केन्द्रित भएका छन्,’ प्राइम कमर्सियल बैंकको एकिकृत कारोवारको शुभारम्भ गर्दै उनले भने, ‘बैंकको काम नाफा मात्र कमाउनु होइन जनतालाई सेवा दिनु पनि हो ।’ यदि बैंक वित्तीय क्षेत्रले नेपालको दुर्गम क्षेत्रमा पुगेर सेवा नदिए अबमा दिन संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)लाई अझ कडाई गर्दै त्यसवापत बैंकहरुले गर्नुपर्ने योगदान बढाइने समेत उनेले चेतावनी दिए ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले नाफाको १ प्रतिशत रकम स्वत सीएसआरका लागि छुट्याउनु पर्ने वाध्यकारी व्यवस्था लागू गरेको छ । यदि बैंक वित्तीय संस्था दुर्गम क्षेत्रमा पुगेर सेवा नदिने हो भने सीएसआर वापतको रकमलाई अझै बृद्धि गरिने उनले जानकारी दिए । ‘बैंक वित्तीय संस्थालाई दुर्गम क्षेत्रमा जानका लागि प्रोत्साह स्वरुप बैंकले प्रति शाखा ५० लाख रुपैयाँ विना ब्याज प्रदान गर्दै आएको छ तै पनि तपाइहरु जानुहुन्न,’ उनले भने, ‘बैंकहरु आफुखुशी नगएमा सीएसआर वापतको रकम बढाएर दुर्गम क्षेत्रमा वित्तीय सेवा प्रदान गरिने छ ।’
बाणिज्य बैंकमा वासेल–३ अनुरुप रिस्क वेस म्याजेमेन्ट लागू भइसकेको हुँदा सोही अनुरुप अघि बढ्न समेत निर्देशन दिएका छन् । हाल बाणिज्य बैंकमा मात्र लागू भएको र केही समयभित्रै विकास बैंक र फाइनान्स कम्पनीमा पनि लागू गरिने उनले जानकारी दिए ।

कार्यक्रममा प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले बैंकले दुई वटा विकास बैंकलाई प्राप्ती गरेसँगै नेपाल राष्ट्र बैंकको निर्देशन अनरुप २०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन सहज हुने बताए । हाल बैंकले कृषि उत्पादनलाई प्रोत्साहन गर्दै सामुहिक कर्जालाई प्राथमिकता दिएको बताउँदै आगामी दिनमा ग्राहक लक्षित नयाँ कार्यक्रम ल्याइने बताए ।

बैंकले विराट लक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेसँगै चुक्ता पूँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यसैगरी ५९ अर्ब ६९ करोड निक्षेप संकलन र ५४ अर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकको शाखा संख्या बृद्धि भई ५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्