Logo

बढ्दै सिमेन्टमा आकर्षण, १८ उद्योगमा साढे ४७ अर्ब लगानी

बढ्दै सिमेन्टमा आकर्षण, १८ उद्योगमा साढे ४७ अर्ब लगानी


रक्षा रेग्मी
0
Shares

काठमाडौं । भुकम्प पछिको पूनर्निर्माणका लागि सिमेन्टको मागमा बृद्धि भएसँगै सिमेन्ट उद्योग खुल्ने क्रम बढेको छ । उद्योग विभागको तथ्यांक अनुसार २०७२ देखि हालसम्म १८ ओटा सिमेन्ट उद्योग दर्ता भएका छन् । ती उद्योगमा ४७ अर्व ४७ करोड ४६ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

पूनर्निर्माणले गर्दा सिमेन्टको माग बढ्नुका साथै देशमा लगानीको अनुकुल वातावरण बन्दै जाँदा सिमेन्ट उद्योगहरु दर्ता हुने क्रम बढेको विभागका प्रवक्ता दुर्गा भुसालले जानकारी दिए । ‘देशमा निर्माणका कामहरु दु्रत गतिमा भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा पनि व्यवसायीहरु सिमेन्ट उद्योग खोल्न केन्द्रित भएका छन् ।’
विभागका अनुसार सरकारले उद्योगका लागि आवश्यक विजुली तथा सडकको पहुँचलगायत पूर्वाधारको सुविधा दिएकोले सिमेन्ट उद्योग खुल्ने क्रम बढेको हो । साथै क्लिंकर आयात रोक्ने उद्देश्यसहित सरकारले चुनढुंगामा आधारित सिमेन्ट उद्योगलाई प्राथमिकतामा राखेसँगै दर्ता बढेको उनले जानकारी दिए । देशमा उर्जा संकट हट्नु पनि सिमेन्ट उद्योग बढ्नुको कारण भएको उनले बताए ।

गत बर्षदेखि सरकारले ३ हजार टिपीडी (टन प्रतिदिन) भन्दा तलका उद्योगले प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) मात्र गरे पुग्ने व्यवस्था गरेकोले पनि उद्योग खुल्ने क्रम बढेको हो । यसअघि दैनिक १ हजार २ सय ५० टनसम्म उत्पादन गर्ने उद्योगहरुलाई मात्र आईइईको व्यवस्था गरिएको थियो । आइईईको दायरा बढाएसँगै सिमेन्ट उद्योग स्थापनामा उद्योगीको आकर्षण बढेको हो । पहिला १ हजार ५० टन प्रतिदिन भन्दा बढी क्षमताका उद्योगलाई इआईए अनिवार्य गरिएको थियो । सरकारले पूनर्निर्माणलाई लक्षित गर्दै सिमेन्ट उद्योगलाई सुविधा थप गरेको हो ।

विभागमा दर्ता भएका उद्योगहरुमा दाङको सतवरियामा सञ्चालनका लागि अरनीको आबु खैरनी सिमेन्ट, कपिलबस्तुमा शुभलक्ष्मी सिमेन्ट उद्योग प्रालि, मोरङमा नेपाल अल्ट्रा टेक सिमेन्ट र नवलपरासीमा शिवम् सिमेन्टले स्वीकृति लिएका थिए । त्यस्तै रुपन्देहीमा अर्घाखाँची सिमेन्ट प्रालि, झापामा सनराइज सिमेन्ट प्रालि, भक्तपुरमा एण्टी सेसामिक ब्लक प्रालि र भक्तपरमा हिमालयन ब्रिक प्रालिलगायतले सञ्चालनको लागि उद्योग विभागमा स्वीकृति लिएका थिए । ती उद्योगहरुबाट १ हजार २ सय १५ जनाले रोजगारी पाउने विभागले जानकारी दिएको छ ।

त्यस्तै यी उद्योगहरुले वार्षिक २ करोड २ लाख १८ हजार टन पिपीसी, पिएससी, ओपिसी तथा क्लिङकर उत्पादन गर्ने छन् । ती मध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि र अर्घाखाँची सिमेन्ट प्रालिमा नेपाली र विदेशी लगानी रहेको उनले जानकारी दिए ।

होङ्सी शिवम्मा ३० प्रतिशत स्वदेशी र ७० प्रतिशत विदेशी लगानी रहेको विभागले जानकारी दिएको छ । होङ्सी सिमेन्टमा सवैभन्दा बढी ३७ अर्व ३५ करोड ५५ लाखको लगानी रहेको छ । घोराही सिमेन्टमा ८ अर्व ९४ करोड ५९ र अर्घाखाँची सिमेन्टमा १ अर्व ९० करोडको लगानी रहेको छ । अरनीको आँबु खैरेनी सिमेन्टमा १ अर्व ५१ करोड लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्