Logo

इन्टरनेटको डाटा १ सेकेन्डभित्रै ‘ट्रान्सफर’ हुनुपर्ने, पाँच सेकेन्डमा फोन लाग्नुपर्ने

इन्टरनेटको डाटा १ सेकेन्डभित्रै ‘ट्रान्सफर’ हुनुपर्ने, पाँच सेकेन्डमा फोन लाग्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब कुनै एउटा डिभाइसबाट अर्को डिभाइसमा पठाइएको डाटा २ सय ५० मिलिसेकेन्डमा पुग्नुपर्ने भएको छ । टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम गर्ने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले  ल्याएको  दूरसञ्चार सेवाको गुणस्तर सम्वन्धी विनियमावली २०७३ मा यस्तो उल्लेख छ । यो विनियमावली आगामी साउन १ गतेदेखि लागु हुने छ ।

विनियमावलीका अनुसार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने व्यवस्था रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘विनियमावली अनुसार गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि लाइसेन्स खारेजसम्मको कारबाही गर्ने व्यवस्था छ’ उनले भने ।

इन्टरनेट सेवा सुचारु हुने वा ग्राहकले गरेको अनुरोध क्रियाशील हुने दर ९५ प्रतिशत वा सो भन्दा बढी हुनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ । त्यसैगरी डाटा प्राप्तिको दर ८० प्रतिशत भन्दा बढी हुनुपर्ने तोकिएको छ । डाटा पठाउने (डाटा अपलोड) को सफलताको दर ७५ प्रतिशतभन्दा बढी हुनुपर्ने उल्लेख छ । मोबाइल सेवाको नेटवर्कमा पहुँच ९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेछ ।

प्राधिकरणले आधारभूत फोन (ल्यान्डलाइन), मोबाइल र इन्टरनेट (डाटा) सेवाको गुणस्तर निर्धारण गरेको हो । जसअनुसार मापदण्डअनुसारको गुणस्तर कायम गर्न प्रदायकलाई निश्चित म्याद दिनेछ । तोकिएको समयमा पनि गुणस्तर नसुधार्ने कम्पनीलाई ५० हजार नगद जरिवाना गर्नेछ ।

जरिवानापछि पनि गुणस्तर नसुध्रिए कम्पनीको लाइसेन्स नै खारेज गरिने विनियमावलीमा उल्लेख छ ।

त्यस्तै सो विनियमावलीमा एउटा फोनबाट अर्कोमा फोन गर्दा पाँच सेकेन्डमा कल कनेक्सन हुनुपर्ने व्यवस्था छ । यदी तोकिएको समयमा कल स्थापित नभए सेवा गुणस्तरहीन भएको ठहरिनेछ । त्यसैगरी प्रत्येक महिनामा १ प्रतिशतभन्दा बढी समय नेटवर्क नचले वा सेवा अवरुद्ध भएको अवस्थामा कम्पनीलाई नियम अनुसार कारवाही गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL