Logo

लगातार ओरालो लागेको बजारमा ४९ अंकको बृद्धि, यसो भन्छन् लगानीकर्ता !

लगातार ओरालो लागेको बजारमा ४९ अंकको बृद्धि, यसो भन्छन् लगानीकर्ता !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचक बुधबार उच्च रुपमा बढेको छ । बजारमा स्थानीय निकायको चुनाव हुने वा नहुने भन्ने दुविधाले ओरालो लागेको बजारमा प्रमुख राजनीतिक दलले निर्धारित मितिमै चुनाव गराउने प्रतिवद्धता जनाएसँगै उकालो लागेको हो ।

बुधबार पनि बजार खुलेको केही समय घटेको नेप्से परिसुचक प्रमुख दलहरुले बैशाख ३१ मै चुनाव गराउने प्रतिवद्धता जनाएसँगै पुनः उकालो लागेको हो । सामान्य घटवढ भएको बजार चुनाव हुने हल्ला वाहिर आएसँगै ३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

चुनाव नहुने हल्लासँगै ओरालो लागेको बजारमा चुनावी आशमा बढेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । ‘बजार लगानीकर्ताको मुडमा भर पर्छ,’ उनले भने, ‘सोही अनुरुप बजारमा हल्लाको भरमा चलिरहेको छ ।’ तर, पछिल्लो समय बढ्दो ब्याजदरका कारण बजारलाई अझै असर गर्ने उनको तर्क छ ।

यदि समयमै चुनाव हुने हो भने बजारले अझै गति लिने एक लगानीकर्ताले बताए । ‘बजार लगानीकर्ताको मनोविज्ञानमा चलेको छ,’ ती लगानीकर्ताले भने, ‘पछिल्लो समय आर्थिक सुचकहरु पनि राम्रो हुँदै गएको र चुनाव पनि समयमै हुने हो भने बजार पक्कै पनि बढ्नेछ ।’

बुधबार अन्य बाहेक सबै समुहको परिसुचक उकालो लाग्दा समग्र नेप्से परिसुचक ४९ अंकले बढ्दै १ हजार ६ सय ६१ अंकमा पुगेर अडिएको छ । बजारमा प्राय सबै समुहका परिसुचक उच्च रुपमा बढेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक २ सय ८३ अंकले बढेको छ भने विकास बैंक समुह ६९ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने बैंकिङ समुहको परिसुचक पनि झण्डै ४८ अंकले बढेको छ भने होटल समुह ८४ अंकले उकालो लाग्दा जलविद्युत समुह ६८ अंकले बढ्न पुगेको छ । बुधबार फाइनान्स समुह १८ अंकले बढ्दा उत्पादनमुलक समुह ९ उकालो लागेको छ ।

बजारमा दिनभर कुल १ सय ४३ कम्पनीको सेयर कारोवार भएका छन् । ती कम्पनीको १ अर्ब ४ करोड रुपैयाँ बरावरको १७ लाख ७० हजार कित्ता सेयर खरिदविक्री भएका छन् । हिजोमात्रै १ सय १५ प्रतिशत बोनस सेयर घोषणा गरेको राष्ट्रिय बीमा कम्पनीको सेयर उच्च रुपमा बढ्दै बढी कारोवार हुने कम्पनीको अग्र स्थानमा रहेको छ । सो कम्पनीको ४ करोड ९५ लाख रुपैयाँको सेयर कारोवार हुँदा गुराँस लाइफ इन्स्योरेन्स र सानिमा बैंकको ४÷४ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्