काठमाडौं । एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिप … । सहरी युवा पुस्ताको चासो समेट्ने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा समेट्दा संभवत हाइकिङ बन्छ ।
कुनै समय पार्क, फिल्म हल तथा पिकनिक गएर विदा मनाउनेहरु अहिले उपत्यका वरिपरिका डाँडाकाँडा चहार्दै गरेका भेटिन्छन् । त्यसैले त उपत्यकाका डाँडा पछिल्लो समय काठमाडौंबासीको विदा मनाउने गन्तव्य बन्न थालेका छन् ।
किशोरकिशोरी मात्र होइन, अन्य उमेर समूहका व्यक्तिहरुका लागि पनि विदा मनाउने गज्जवको शैली बनेको छ हाइकिङ । शहरको व्यस्त जीवनशैलीको तनावबाट ‘रिफ्रेस’ हुन चाहनेहरुबीच लोकप्रिय छ, हाइकिङ । स्वास्थ्यप्रति सजगहरु होस या समुहमा गफिदै हिड्ने तथा शहरको कोलाहालबाट एक दिन भएपनि मुक्त हुन चाहनेको रोजाई बनेको छ, हाइकिङ ।
हाइकिङमा नयाँ ठाँउ घुम्न पाउनुका साथै वनस्पति, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा बारे जानकारी पाइन्छ । त्यसो त शारीरिक कसरत र रमाइलोका लागि पनि हाइकिङ गरिन्छ । त्यसैले त साप्ताहिक विदामा हाइकिङ गर्नेहरुको जमात बढ्दो छ ।
दैनिक हिंड्न नभ्याउनेहरूले कम्तीमा महीनाको एकचोटि हाइकिङ जाने पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुदन सुवेदी बताउँछन् । उनका अनुसार अहिले हप्तामा कम्तिमा १ सय जना हाइकिङ जाने गरेका छन् ।
विशेष गरी उकालो–ओरालो ट्रेलमा हाइकिङ गर्दा स्वास्थ्यको लागि बढी लाभदायक मानिन्छ । लामो समय हिड्दा शरीरबाट पसिना निकाल्न र मजाले रक्तसञ्चार गराउन सहयोग पुग्छ । हाइकिङ जाँदा एकदिन भए पनि शहरको धुवाँ–धूलो, कोलाहल र ध्वनि प्रदूषणबाट छुटकारा पाइन्छ । त्यसमा पनि सवारी प्रदुषण अनि उपत्यकामा भइरहेको सडक विस्तार तथा मेलम्ची पाइपलाईन विछ्याउने कार्यका कारण यहाँको हावा मानव स्वास्थ्यकै लागि घातक बनेको छ । यस्तोमा एक दिन भए पनि आफ्नो शारीरिक अवयवहरुका लागि सफा र स्वच्छ हावाको अनुभुति दिन हाइकिङ जान चाहने धेरै छन् ।
उपत्यका वरिपरि धेरै हाइकिङ ट्रेलहरु छन् । जहाँ बिहान निस्केर बेलुकी घर फर्किन सकिन्छ । त्यसो त हाइकिङ भनेकै एक दिनमै सकिने छोटो हिंडाइ वा यात्रा नै हो । काठमाडौंमा हाइकिङको लागि हरेक याममा उपयुक्त हुने रुटहरू छन् । त्यसैले हाइकर्सले जाडो या गर्मी महिना नै कुनुपर्दैन ।
हाइकिङ जानु अघि यस्तो गर्नुहोस तयारी
हाइकिङ जानु अघि ट्रेल र मौसम अनुसारको तयारी पहिल्यै गर्नुपर्छ । हाइकिङमा सन ग्लास, तौलिया, क्याप, ह्याट तथा सन प्रोटेक्सन क्रिम लैजानुपर्छ । त्यस्तै जुत्ता र पोशाक हिंड्न सजिलो हुने किसिमको लगाउनुपर्छ ।
बर्षतमा हाइकिङ जाँदै हुनुहुन्छ भने छाता र रेनकोट अनिवार्य नै हुन्छ । त्यस्तै बाटोमा खानका लागि खानेपानी, हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री, म्याप, लट्ठी, क्यामेरा आदि अनिवार्य बोक्नुपर्ने सामग्री हुन् । कहिलेकाँही गलत दिशातिर लाग्दा तपाँईको हाइकिङ खराव हुनसक्छ । त्यसैले कम्तिमा एक जना गन्तव्यवारे जानकार मनिस साथमा लैजानुहोस् ।
नेपाल पर्यटन बोर्ड र विभिन्न पत्रपत्रिका आदिबाट पनि विभिन्न हाइकिङ रुटको बारेमा जानकारी पाउन सकिन्छ । त्यसका साथै, प्रकृति प्रेमी समूह, हाइक फर नेपाल र केही ट्राभल एजेन्सी जस्ता केही व्यावसायिक हाइकिङ गराउने संस्था पनि छन् जसले न्यून मूल्यमा तपाईंलाई हरेक महिना नयाँ नयाँ गन्तव्यमा सुविधापूर्ण तरिकाले लैजाने ल्याउने गर्छन् । यस्ता संस्थाले हाइकिङका प्याकेज नै सञ्चालन गरिरहेका छन् ।
यस्ता छन् हाइकिङ रुट
उपत्यकामा हाइकिङ रुट धेरै छन् । त्यस्तै हाइकर्सले नयाँ रुट पत्ता लगाएर पनि हिंड्न थालेका छन् । विशेष गरी शिवपुरी, फूलचोकी, सुन्दरीजल लगायत क्षेत्र हाइकिङका लागि प्रसिद्ध छन् ।
शिवपुरी
राष्ट्रिय निकुञ्ज भित्रको शिवपुरी डाँडा हाइकिङका लागि उपयुक्त रुट हो । शिवपुरी डाँडामा पुग्ने तीनवटा ट्रेल छन् । यो रुटको हाइकिङको आकर्षण नागी गुम्बा हो ।
चन्द्रागिरि
पछिल्लो समय चन्द्रागिरि हाइकर्सको पहिलो रोजाइ बनेको छ । भालेश्वर मन्दिर र त्यस वरिपरिको पूर्वाधारले गर्दा त्यहाँ हाइकिङ जाने बढेका हुन् । चन्द्रागिरीका लागि कीर्तिपुरको मच्छेगाउँबाट यात्रा शुरू गर्न सकिन्छ । त्यहाँबाट सगरमाथा, मकालु, कञ्चनजंघा मनास्लु, दोर्जे लाक्पालगायतका हिमालहरू देखिन्छ । केवलकार बनेपछि त्यसको तलबाट पनि नयाँ बाटो बनेको छ ।
नगरकोट
नगरकोट क्षेत्रमा हाइकिङको मज्जा लिन साँखु, सुन्दरीजल, चाँगुनारायण, भक्तपुर, बनेपा र धुलिखेलबाट यात्रा गर्न सकिन्छ । यो हाइकिङमा सगरमाथा, मनास्लु, गणेश, लाङटाङलगायतका हिमाली शृङखला देखिन्छ ।
साँखु
साँखु काठमाडौं उपत्यकाको प्राचीन बस्तीमध्येको एक हो । यहाँको विशेषता साली नदी पनि हो । यहाँ बाट बज्रयोगिनी हुँदै मणिचूडसम्म रमाइलो हाइकिङ गर्ने रुट छ ।
नमोबुद्ध
धुलिखेलबाट काभ्रेको प्रसिद्ध धार्मिक स्थल नमोबुद्धसम्म हाइकिङ गर्न सकिन्छ । धुलिखेलको बतासेडाँडाबाट नमोबुद्धहुँदै काभ्रेभञ्ज्याङ्ग निस्कने अर्को रमाइलो ट्रेल छ । पनौतीको खोपासीबाट बल्थली हुँदै नमोबुद्ध सम्म पुग्ने अर्को ट्रेल पनि छ । नमोबुद्ध बाट गौरीशंकर, लाङटाङ, दोर्जे लाक्पा, गणेश, मनास्लुलगायतका हिमालको अवलोकन गर्न सकिन्छ ।
लाँकुरी भञ्ज्याङ
लितपुरको लाँकुरी भञ्ज्याङबाट उपत्यकाका तीन वटै शहरको दृश्य देखिन्छ । काभ्रेको कुशादेवी, भक्तपुरको दधिकोट वा अनन्तलिङ्गेश्वर र गोदावरीबाट पनि लाँकुरी भञ्ज्याङको हाइकिङ गर्न सकिन्छ ।
बल्थली
काभ्रेको बल्थलीबाट सगरमाथा, गणेश, नुम्बुर, लाङटाङ आदि हिमालहरू लस्करै देखिन्छ । बल्थली डाँडामुनि लड्कु खोला छ । त्यस नजिकैको गुफाभित्र लड्केश्वर महादेवको मन्दिर छ ।
आशापुरी महादेव
यो रुटमा घ्याम्पे डाँडा हुँदै आशापुरी महादेवको मन्दिर पुगिन्छ । भक्तपुर र काभ्रे जिल्लाको सीमामा रहेको आशापुरी महादेवबाट फर्केर साँगा झर्न सकिन्छ ।
सुन्दरीजल
सुन्दरीजल वनभोज र घुमघामका साथै हाइकिङका लागि चर्चित छ । झरना, घना जंगल तथा बन्यजन्तु यहाँका विशेषता हुन् । सुन्दरीजलबाट शिवपुरी या नगरकोट हाइकिङ पनि गर्न सकिन्छ। मूलखर्कबाट सिन्धुपाल्चोकको चिसापानी हुँदै झुले जाने अर्को हाइकिङ ट्रेल पनि छ । त्यसका लागि एक रात चिसापानीमा बस्नुपर्छ ।
इन्द्र दह
काठमाडौंको सीतापाइलाबाट भीमढुङ्गा हुँदै इन्द्र दह पुग्न सकिन्छ । कालु पाँडेको समाधि, शिव मन्दिर, स्वीट्जरल्याड पार्क आदि इन्द्र दह हाइकिङमा हेर्न पाइने खास ठाउँ हुन् । चैत बैसाखमा त्यहाँ ढकमक्क फुलेका गुराँस पनि हेर्न पाइन्छ ।
नागान
नागार्जुन डाँडामा जामाचो गुम्बा र भ्यू टावर छ, जुन यस रुटको हाइकिङको आकर्षण हो । डाँडाबाट लाङटाङ, अन्नपूर्णलगायतका हिमशृङ्खला, नुवाकोटका गाउँ र काठमाडौं उपत्यका हेर्न सकिन्छ ।
चम्पादेवी
चम्पादेवी डाँडा काठमाडौं र मकवानपुर जिल्लाको सीमाना पनि हो । चोभारको टौदहबाट हाइकिङ शुरू गरेर दक्षिणकाली मन्दिर नजिकको पुरानो नेवार वस्ती फर्पिङ हुँदै काठमाडौं फर्किन सकिन्छ । चम्पादेवीबाट गौरीशंकर, लाङटाङ, अन्नपूर्ण लगायतका हिमाली श्रृङ्खला देख्न सकिन्छ । कीर्तिपुरको मच्छेगाउँबाट पनि चम्पादेवी जाने रुट छ ।