Logo

नेपाल वायुसेवा निगम र एएआरबीच वाइड वडी खरीद सम्झौता,२२ अर्बमा दुई नयाँ जहाज

नेपाल वायुसेवा निगम र एएआरबीच वाइड वडी खरीद सम्झौता,२२ अर्बमा दुई नयाँ जहाज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइडवडी जहाज खरीदका लागि सम्झौता गरेको छ। निगमले अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेको हो । जहाज खरीद सम्झौंतामा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकार र एएआरका अन्तरराष्ट्रिय सप्लाई चेन प्रेसिडेन्ट दीपक शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एएआरले एयरवस कम्पनीको ए ३३०–२२० सिरिजका दुईवटा वाइडबडी जहाज निगमलाई दिनेछ । साथै निगमले २८ दिनभित्रै ८ अर्ब रुपैयाँ पठाउनुपर्ने सम्झौतापत्रमा उल्लेख भएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । कम्पनीसँग गत माघ १४ गते निगमले सैदान्तिक सम्झौता गरेको थियो ।

निगमले अमेरिकी कम्पनी एआरआर कर्पोरेशनलाई दुईओटा वाइडबडी खरिदका लागि जिम्मा दिएको हो । साथै जहाज खरिदका लागि बैना रकम समेत बुझाइसकेको छ ।
दुईओटा एयरबस ३३०–२०० संस्करणसम्म एक हजार घण्टासम्म उडेको जहाज खरिद गर्नसक्ने भन्दै निगमले ग्लोबल टेन्डर आह्वान गरेको थियो । जसमा अमेरिकी कम्पनीले सबैभन्दा कम रकममा ब्राण्ड न्यू जहाज उपलब्ध गराउने प्रस्ताव गरेको हो । सो कम्पनीले निगमलाई १ सय ४ मिलियन अमेरिकी डलरमा २ वटा नयाँ वाइड बडी विक्री गर्न लागेको हो ।

निगमले लामो दूरीमा अन्तरराष्ट्रिय उडानका लागि वाइड बडी ल्याउन लागेको हो । वाइड बडी आएपछि साउथ कोरिया, युरोप, अष्ट्रेलिया, लन्डनलगायत ५ देशमा उडान गरिने छ । निगमले खरिद गर्न लागेको जहाज ए३३०–२०० ले एकतर्फी सिधा नौदेखि १० घन्टा ‘नन्स्टप’ उडान गर्न सक्नेछ ।

निगमसँग विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत लङ हल गन्तव्यमा उडान गरिसकेको अनुभव छ । त्यही अनुभव लिएर पुनः लङ हल गन्तव्य उडान गर्न लागिएको कंसाकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्