Logo

गौतमबुद्ध विमानस्थलको ३० प्रतिशत काम सकियो, कच्ची धावनमार्ग निर्माण पुरा

गौतमबुद्ध विमानस्थलको ३० प्रतिशत काम सकियो, कच्ची धावनमार्ग निर्माण पुरा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक निर्माणको करिव ३० प्रतिशत काम सम्पन्न भएको छ । विमानस्थलमा ३ हजार मिटर कच्ची धावनमार्ग निर्माण सम्पन्न भएको छ ।

आयोजनाअन्तर्गत हालसम्म २ फिट डेढ मिटर मोटाइको कच्ची धावनमार्ग निर्माण, अन्तरराष्ट्रिय ट्रमिनल भवनको बेसमेण्ट निर्माणकार्य, घाघरा खोला डाइभर्सनलगायत कामहरू पूरा भएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए ।

त्यस्तै तिनाउ खोलाबाट हालसम्म डेढ लाख घनमिटर नदीजन्य सामग्र दैनिक (धावनमार्ग बनाउन आवश्यक गिट्टी) निकालि सकेको विमानस्थलका परियोजना प्रमुख ओम शर्माले जानकारी दिए । उनका अनुसार हाल दैनिक १५०० घनमिटर गिट्टी निकाल्ने काम भइरहेको छ ।

आयोजनाको ठेक्का लिएको चीनको सरकारी कम्पनी नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले आर्थिक व्यवस्थपन गर्न नसक्दा काममा ढिलाई भएको थियो । तर एक साता यता काम तिव्र रुपमा अघि बढेको शर्माले जानकारी दिए । उनका अनुसार आयोजनाले ठेकेदारलाई आर्थिक व्यवस्थापनको समस्या समाधान गरेर निर्धारित समयमै आयोजना सम्पन्न गर्न भनेको थियो ।

हालसम्म ४५ प्रतिशत काम सकिनुपर्नेमा ठेकेदारको ढिला सुस्तीका साथै गत बर्ष भएको मधेश आन्दोलन, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्याका कारण त्यो लक्ष्य पूरा गर्न नसकिएको हो । ‘तर, अहिले फेरी निर्माण काम तिव्र रुपमा अघि बढेको छ ’ उनले भने ।

स्तरोन्नति भइरहेको यस विमानस्थलको क्षेत्र बढाउन थप ५ सय बिगाहा जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारणलगायत काम भइरहेको छ । जग्गा अधिग्रहणपछि विमानस्थलको कुल क्षेत्रफल ७ सय ८७ बिगाहा हुनेछ ।

क्षेत्रफलका हिसाबले यो विमानस्थल मुलुककै सबैभन्दा ठूलो विमानस्थल बन्नेछ । नयाँ जग्गा अधिग्रहणपछि पूर्णरूपमा विस्थापित हुन सक्ने ४ सय २० घरधुरी परिवारलाई अहिले अधिग्रहण भएकै क्षेत्रभित्र पुनःस्थापित गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्