Logo

एयरबस खरिद : कसले गर्यो निगमलाई २ प्रतिशत ब्याजदरको ‘अफर’ ?

एयरबस खरिद : कसले गर्यो निगमलाई २ प्रतिशत ब्याजदरको ‘अफर’ ?


रक्षा रेग्मी
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले वाइड वडी खरिदका लागि नेपालबाटै ऋण लिने भएको छ । जहाज खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग ऋण लिने सम्बन्धमा छलफल अघि बढाइएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले जानकारी दिए ।

विदेशी कम्पनीले सस्तो ब्याजदरमा ऋण दिने प्रस्ताव गरेपछि त्यस सम्वन्धमा कम्पनीसँग एक चरणको छलफल भएको थियो । तर, अन्त्यमा नेपाली कम्पनीसँगै लिने लगभग पक्का भएको उनले बताए । ‘एक विदेशी कम्पनीले निगमलाई २ प्रतिशत ब्याजदरमा ऋण दिने प्रस्ताव गरेको थियो,’ उनले भने, ‘तर सो कम्पनीले उपलब्ध गराउने रकमको स्रोत सम्बन्धमा आधिकारीक जानकारी नभएकाले नेपालबाटै ऋण सहयोग लिन लागेका हौं ।’

ऋण लिने सम्बन्धमा सञ्चय कोष र नागरिक लगानी कोषसँग पटकपटक छलफल भएपनि कति प्रतिशत व्याजदरमा ऋण लिने भन्ने विषयमा टुङ्गो नलागेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । निगमले नागरिक लगानी कोष तथा सञ्चय कोषलाई ७.५ देखि ८ प्रतिशतसम्ममा ऋण उपलब्ध गराउन आग्रह गरेको छ । तर ती संस्थाले अहिलेको अवस्थामा ९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी दिँदै आएका छन् । ब्याजदरकै विषयमा छलफल भइरहेकाले कति र कसरी ऋण लिने भन्ने विषयमो टुङ्गो नलागेको उनले जानकारी दिए ।

ब्याजदरको टुङ्गो लागेसँगै निगम संचालक समितिले वाइड वडी जहाज खरिदका लागि २५ अर्ब रुपैयाँ ऋण लिने निर्णय गर्नेछ । साथै बोर्डले निर्णय गरेपछि त्यससम्बन्धी प्रक्रिया अघि बढाउने समेत उनले जानकारी दिए । निगमले यसअघि पनि सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो ।
निगमले अमेरिकी कम्पनी एआरआर कर्पोरेशनलाई दुईओटा वाइडबडी खरिदका लागि जिम्मा दिइसकेको छ । साथै जहाज खरिदका लागि बैना रकम समेत बुझाइसकेको छ ।
दुईओटा एयरबस ३३०–२०० संस्करणसम्म एक हजार घण्टासम्म उडेको जहाज खरिद गर्नसक्ने भन्दै निगमले ग्लोबल टेन्डर आह्वान गरेको थियो । जसमा अमेरिकी कम्पनीले सबैभन्दा कम रकममा ब्राण्ड न्यू जहाज उपलब्ध गराउने प्रस्ताव गरेको हो । सो कम्पनीले निगमलाई १ सय ४ मिलियन अमेरिकी डलरमा २ वटा नयाँ वाइड बडी विक्री गर्न लागेको होे ।
निगमले लामो दूरीमा अन्तरराष्ट्रिय उडानका लागि वाइड बडी ल्याउन लागेको हो । वाइड बडी आएपछि साउथ कोरिया, युरोप, अष्ट्रेलिया, लन्डनलगायत ५ देशमा उडान गरिने छ । निगमले खरिद गर्न लागेको जहाज ए३३०–२०० ले एकतर्फी सिधा नौदेखि १० घन्टा ‘नन्स्टप’ उडान गर्न सक्नेछ ।निगमसँग विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत लङ हल गन्तव्यमा उडान गरिसकेको अनुभव छ । त्यही अनुभव लिएर पुनः लङ हल गन्तव्य उडान गर्न लागिएको कंसाकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्