Logo

अनुमति विनै १ सय २२ ट्रान्जिट, दिल्लीदेखि भुटानसम्मको फ्लाइट काठमाडौंमा

अनुमति विनै १ सय २२ ट्रान्जिट, दिल्लीदेखि भुटानसम्मको फ्लाइट काठमाडौंमा


रक्षा रेग्मी
54
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सन् २०१६ मा १ सय २२ वटा ‘ट्रान्जिट’ उडान भएको छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिटको अनुमती नदिएपनि वार्षिक करिव २ सय उडान ट्रान्जिटमा पर्ने गरेको तथ्यांक सार्वजनिक भएको हो । प्राधिकरणका अनुसार सन् २०१५ मा पनि टिआइएबाट ३ सय २९ वटा ट्रान्जिट उडान भएका थिए ।

अन्तरराष्ट्रिय विमानस्थलले अनुमती नपाए पनि प्राविधिक समस्याका कारण आकस्मिक ट्रान्जिट हुने गरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । कहिलेकाँही भुटान देखि दिल्लीसम्मको उडानमा नेपालमा ट्रान्जिट गर्नुपर्ने अवस्था आउने समेत उनले बताए । एक ठाउँबाट उडेको जहाज गन्तव्यमा नपुग्दै बीचको अर्को विमानस्थलमा केही समयका लागि अवतरण गर्छन् । विशेषगरी टाढाको गन्तव्यको हकमा यो लागु हुन्छ ।

त्यस्तै सीधा उडान सम्भव नभएका गन्तव्यमा पुग्दा या जहाजमा इन्धन भर्न तथा यात्रु थपघटका लागि ट्रान्जिट उडान गरिन्छ । ट्रान्जिटमा सम्वन्धित कम्पनीले यात्रुको खाना तथा वस्नको व्यवस्था गर्नुपर्ने हुन्छ ।

किन छैन नेपालमा ट्रान्जिटको अनुमती ?

प्राविधिक कारणबस आकस्मिक उडानबाहेक त्रिभुवन विमानस्थलमा ट्रान्जिट उडान हुँदैन । विमानस्थलमा भौतिक पूर्वधारको कमीले प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनै पनि वायुसेवालाई ट्रान्जिट उडानको अनुमति दिएको छैन । ‘टिआइएको क्षेत्रफल सानो भएकोले जहाज राख्न समस्या हुन्छ भने यात्रुहरुलाई विश्रामका लागि उपयुक्त व्यवस्था पनि छैन,’ ठाकुरले भने, ‘ अब विस्तारै नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनेतर्फ सोचेका छौं ।’

विमानस्थल विस्तार पश्चात ट्रान्जिट पोइन्ट बनाउन सकिने उनले बताए । साथै त्यसका लागि पूर्वाधारहरु पनि थप गर्ने योजना रहेको ठाकुरले सुनाए । ट्रान्जिटबाट आम्दानी हुने भएकोले विमानस्थलले त्यसलाई प्राथमिकता दिएको उनले बताए । ट्रान्जिटमा जहाजले पार्किङको र यात्रुको खाना वस्नको पनि पैसा तिनुपर्छ ।

विमानस्थल स्रोतका अनुसार २०१५ मा भूकम्पका कारण ३ सय २९ ओटा ट्रान्जिट परेका थिए । त्यस्तै सन् २०१६ मा भारतीय नाकाबन्दीपछि नेपालमा इन्धन अभाव हुँदा त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी ट्रान्जिट उडान भएको तथ्यांकले देखाएको छ । यस वर्ष जनवरी पुस माघमा बढी ट्रान्जिट भएका छन् ।

सन् २०१६ मा टिआइएबाट २७ हजार १ सय १८ वटा अन्तरराष्ट्रिय उडान भएका छन् । जसमध्ये १३ हजार ५ सय ६० उडान तथा १३ हजार ५ सय ५८ अवतरण भएको तथ्यांकमा उल्लेख छ ।

यी उडान अवतरणमार्फत कुल ३५ लाख १० हजार ७ सय ४२ जना यात्रुले अन्तरराष्ट्रिय हवाईयात्रा गरेका छन् । नेपाल वायुसेवा निगमको सवैभन्दा बढी अन्तरराष्ट्रिय उडान भएको थियो । निगमको ३ हजार १ सय ५१ ओटा उडान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL