काठमाडौं । नेपाल वायुसेवा निगमले ल्याउन लागेको वाइडबडीको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । निगमले आगामी मार्चमा ए ३३०– २०० खरिदका लागि सम्झौता गर्ने तयारी गरेको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बताए ।
निगमले एएआर कम्पनीसँग विमान खरिदको सम्झौता गर्न लागेको हो । नयाँ आउने जहाजले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियकाको सिड्नी र जापानको टोकियोमा सेवा दिने कंशाकारले जानकारी दिए ।
विशेषगरी वाइडवडीलाइ पर्यटन क्षेत्रमा लक्षित गरिने उनले बताए । ‘पर्यटन उद्योगलाई माथि ल्याउन निगम अगाडी आउनुपर्छ’ उनले भने ‘त्यही अनुसार वाइडवडीलाई पर्यटकीय शहरमा उडान भर्ने सोच छ ।’ त्यस्तै काठमाडौं एशियाको सवैभन्दा महंगो हवाई गन्तव्य भएकोले भाडा कम गर्नु आवश्यक भएको बताए । सोमवार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरि यस्तो जानकारी दिएका हुन् ।
नयाँ एयरबस २ सय ८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा बिजनेश क्लासका सिट हुनेछन् । निगमले एएआरसँग १ सय ४ मिलियन डलरमा वाइडवडी किन्न लागेको हो । सस्तो मूल्यमा राम्रो जहाज किन्न लागेकोले निगममाथि शंकाको दृष्टीकोणले हेर्ने बढेको भन्दै कंशाकारले नियम कानुन अनुसार जहाज खरिद गर्न लागेको दावी गरे । ‘सार्वजनिक खरिद ऐनको एउटा ऐन पनि उल्लंघन गरेका छैनौ’ उनले भने ।
साथै उनले जहाज खरिद प्रक्रियामा शंका गरेकोले स्पष्टिकरणका लागि मन्त्री र सचिवको सहमती पश्चात पत्रकार सम्मेलन आयोजना गरेको समेत जानकारी दिए ।
२० ओटा आन्तरिक विमानस्थलमा नियमित उडान भर्ने तयारी गरेको छ । चिनीयाँ एयरबस भित्र्याएसंगै २० ओटा विमानस्थलमा उडान भर्न लागेको हो । त्यस्तै हाल ७४ जना पाइलट रहेकोमा १ सय २० जना आवशयक पर्ने कंशाकारले जानकारी दिए ।