Logo

यस्ता संस्था जो कर नै बुझाउँदैनन्, सुविधा रोक्दै महानगर

यस्ता संस्था जो कर नै बुझाउँदैनन्, सुविधा रोक्दै महानगर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सार्वजनिक संस्थान तथा ठूला व्यापारिक घरानाले कर नतिरेको भन्दै महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने तयारी थालेको छ । पटक पटक पत्राचार गर्दा पनि करको दायरामा नआएपछि कारवाहीको प्रक्रिया अघि बढाउन लागिएको महानगरका राजश्व महाशाखा निर्देशक राज्य प्रधानाङ्गले बताए ।
काठमाडौं महानगरपालिकाले करमा कडाइ गर्न थालेपछि महानगरभित्र संचालित होटलहरु करको दायरामा आएपनि सार्वजनिक संस्थान तथा व्यापारिक भवनहरुले भने अझै आलटाल गरेका हुन् ।
घर बहाल तथा जग्गा कर नतिर्दा महानगरले दिने विभिन्न सुविधा कटौती गर्ने चेतावनी दिएपनि हालसम्म करको दायरामा नआएकोे उनले जानकारी दिए ।

महानगरपालिकाले अब छिटै नै ३५ दिने सूचना निकाली करको विवरण पेस गर्न आग्रह गर्ने छ । सो समयभित्र विवरण नबुझाएको अवस्थामा स्थानीय मन्त्रालयको सहयोगका सुविधा कटौती गर्न थाल्ने प्राधानाङ्गले जानकारी दिए ।

उनका अनुसार महानगर भित्र सञ्चालनमा रहेको सांस्कृतिक संस्थान, दुग्ध विकास संस्थान, विद्युत प्राधिकरण, साल्ट ट्रेडिङ,नेशनल ट्रेडिङ, खाद्य संस्थान, संचयकोषले कर तिरेका छैनन् । त्यसैगरी व्यावसायीक भवनमध्ये काठमाडौँ मल, काठमाडौँ बिजनेस पार्क, काठमाडाँै प्लाजा, साझा भण्डार लिमिटेड, आरबी कम्प्लेक्स, जेसिसको व्यापारिक भवनले कुनै पनि प्रकारका कर तिरेका छैनन् ।

‘यी मध्ये कतिपयले आफ्नो संस्थागत ऐन अनुसार तिर्न नपर्ने भन्दै अटेर गरका छन्,’ उनले भने ‘सार्वजनिक जग्गामा बनाइएका घर व्यापारिक प्रायोजनका लागि उपयोग भएको अवस्थामा जग्गा कर पनि तिर्नुपर्छ’ ।
तर यस्ता संस्थानहरु भने सार्वजनिक जग्गाको कर तिर्नुनपर्ने भन्दै आलटाल गरिरहेका छन् । दुग्ध विकास संस्थान सरकारी जग्गामा बनेको भएपनि त्यसले व्यापारिक क्रियाकलापलाई प्राथमिकता दिएको कारण घरजग्गा तथा बहाल कर तिर्नुपर्ने उनले जानकारी दिए ।
महानगरपालिकाले कर नतिर्ने व्यावसायिक भवन र संस्थानको चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने जस्ता कारबाही गर्ने बताएको छ । साथै त्यति गर्दापनि करको दायरामा नआए व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्नेलगायतका कारबाही गर्ने राजस्व विभाग प्रमुख धु्रव काफ्लेले बताए । त्यस्तै ललितपुर उपमहानगरपालिकाका स्कुल, कलेज, अस्पतालदेखि ठूला सपिङ मल, होटल, सिनेमा हलसम्मले घरजग्गा र बहाल कर नतिरी करोडौं राजस्व छली गरेको पाइएको छ ।

ललितपुर उपमहानगरको आव ०७२÷७३ को लेखा परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार पुल्चोकको अल्का, धापाखेलको सुमेरु, लगनखेलको पाटन, कुपन्डोलको सर्भाङ नर्सिङ होम, इमाडोलको किस्ट हस्पिटल कर नतिर्ने सूचीमा छन् । त्यस्तै पुल्चोकको नारायणी, पाटनढोकाको ओएसिस, हरिहरभवनको हिमालयन, विद्यालयमा हात्तीवनको लिटिल एन्जल्स, मानभवनको आदर्श विद्या मन्दिरलगायतले पनि तिरेको छैन । उपमहानगरका अनुसार यी निकायले ५० करोडभन्दा बढी कर छली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्