Logo

इन्भेष्टर्स फोरमका अध्यक्ष भन्छन्, ‘नेप्सेले बियरिस ट्रेण्ड समात्यो अब डेढ वर्षसम्म घट्छ’

इन्भेष्टर्स फोरमका अध्यक्ष भन्छन्, ‘नेप्सेले बियरिस ट्रेण्ड समात्यो अब डेढ वर्षसम्म घट्छ’


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । गतहप्ताबाट नेप्से परिसुचक उच्च रुपमा घट्न शुरु गरेसँगै बजारमा तरङ्ग पैदा भएको छ । झण्डै २ महिना सामान्य कारोवार हुँदै स्थिरजस्तै रहेको बजार उच्च रुपमा घट्न शुरु गरेपछि यसले लगानीकर्तालाई तरङगित बनाएको हो ।

अघिल्लो हप्ता दैनिक ३६ अंकसम्म घटेको नेप्से परिसुचक सोमबार झण्डै ६५ अंकले ओरालो लाग्न पुग्यो । २ महिनासम्म होल्ड गरेर राख्दा पनि बजार नबढेपछि लगानीकर्ताले ब्याजदरको चापमा घटेरै भएपनि सेयर विक्री गर्न शुरु गरेका हुन् ।

बजारमा लगानी योग्य पूँजी (तरलता) अभाव, बढ्दो ब्याजदर, तथा मार्जिन कलले गर्दा लगानीकर्ताहरु घटेरै भएपनि सेयर विक्री गर्न शुरु गरेका छन् । बजार घट्न शुरु गरेसँगै दैनिक कारोवार रकम बढेर ५० करोड रुपैयाँभन्दा माथी पुगेको छ । मार्जिन कललाई समेत रकम नभएपछि लगानीकर्ताले बाध्य भएर सेयर बेच्नु परेको एक लगानीकर्ता बताउँछन् ।

यसैगरी पछिल्लो समय बैंकहरुले संस्थागत निक्षेप र मुद्दती खातामा ब्याजदर बढाएर १३ प्रतिशतसम्म बढाएका छन् । सेयर बजारमा त्यतिकै राख्नुभन्दा मुद्दती खातामा जम्मा गर्दा बढी लाभ हुने भएकाले पनि लगानीकर्ताहरु घट्दो ट्रेण्डमा सेयर विक्री गर्न थालेका सम्बद्ध व्यक्तिहरु बताउँछन् ।

सेयरको बढी फ्लो भएकाले पनि बजारमा घट्ने क्रम शुरु भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्मराम घिमिरे बताउँछन् । ‘जससम्म बजारमा हकप्रद, बोनस सेयर, एफपीओ तथा नयाँ सेयर आउने क्रम रोकिँदैन तबसम्म बजार घट्नेक्रम रोकिँदैन,’ उनले भने, ‘बजारले बियरिस ट्रेण्ड समात्यो कम्तीमा पनि अबको डेढवर्षसम्म क्रमिक रुपमा घटिरहन्छ ।’ तर, अहिले जुन रुपमा बजार घटेको छ त्यो भने असान्दर्भिक भएको उनको तर्क छ ।

उनका अनुसार नेप्सेले यस अघि लामो समय बुलिस ट्रेन्ड समातेको र अब सोही अनुरुप बियरिस ट्रेण्ड लिएको हो । यहि अवस्था रहिरहे नेप्से क्रमिक रुपमा घट्दै जाने निश्चित छ । अहिले थप लगानी गर्न बैंकहरुले कर्जा दिन छाडेकाले पनि आफुसँग भएको सेयर विक्री गर्नुको विकल्प नभएको उनले जानकारी दिए ।

सोमबार नेप्से परिसुचक घटेर १ हजार ३ सय ९ अंकमा झेर अडिएको छ । विशेषगरी बीमा कम्पनीको कारोवार १० प्रतिशतले घटेको छ । दिनभर १ सय २३ कम्पनीको सेयर कारोवार भएकोमा ५ कम्पनी वाहेक सबै समुहका परिसुचक ओरालो लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL