Logo

संचयकोषसँग वाइड बडीको ऋण सम्झौता गर्दै निगम, बोर्ड बैठकबाट टुङ्गो लगाईँदै

संचयकोषसँग वाइड बडीको ऋण सम्झौता गर्दै निगम, बोर्ड बैठकबाट टुङ्गो लगाईँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोषसँग ऋण लिने प्रक्रिया अघि बढाएको छ । निगमले वाइड बडी खरिदका लागि कोषसँग ऋण लिन लागेको हो । छलफल अन्तिम चरणमा पुगेको र बोर्डबाट निणर्य हुन बाँकी रहेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । ‘कोषसँग वाइड वडी जहाज खरिदका लागि २५ अर्व ऋण लिन विभिन्न चरणमा छलफल भइसकेको छ,’ उनले भने ‘निगम संचालक समितिले निणर्य गरेपछि त्यससम्वन्धी प्रक्रिया अघि बढाउने छौं ।’ निगमले यसअघि पनि जहाज खरिदका लागि कोषसँग १० अर्व रुपैयाँ ऋण लिएको थियो ।

निगमले कर्मचारी संचयकोषका साथै नागरिक लगानी कोष र अन्य वाणिज्य बैंकसँग पनि छलफल गरिहेको छ । कर्मचारी संचयकोषसँग नभएको खण्डमा मात्र अन्य संस्थासँग ऋण लिइने उनको भनाइ छ । ‘हामीलाई जसले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँछ उसैसँग लिने हो,’ कंशाकारले भने । जहाज खरिदका लागि स्वदेशी पूँजी जुटाउने उद्देश्य अनुरुप निगमले लगानी कोष र अन्इ बैंकसँग पनि छलफल प्रक्रिया अघि बढाएको हो ।

निगमले अमेरिकी कम्पनी एआरआर कर्पोरेशनलाई दुईओटा वाइडबडीको जिम्मा दिइसकेको छ । दुईओटा एयरबस ३३० –२०० सिरिजका १ हजार घण्टासम्म उडेको जहाज खरिद गर्नसक्ने भन्दै निगमले ग्लोवल टेन्डर आवह्वान गरेको थियो । जसमा अमेरिकी कम्पनीले सवैभन्दा कम रकममा व्राण्ड न्यू जहाज उपलब्ध गराउने प्रस्ताव गरेको हो । निगमले २ सय ९ मिलियन अमेरिकी डलरमा २ वटा नयाँ वाइड बडी ल्याउने प्रस्ताव गरेको हो । सो मूल्यमा हेरफेर हुनसक्ने उनले जानकारी दिए ।

निगमले लामो दूरीमा अन्तरराष्ट्रिय उडानका लागि वाइड बडी ल्याउन लागेको हो । वाइड बडी आएपछि दक्षिण कोरिया, युरोप, अष्ट्रेलिया, लन्डनलगायत ५ देशमा उडान गरिने छ । निगमले खरिद गर्न लागेको जहाज ए३३०–२०० ले एकतर्फी सिधा ९ देखि १० घन्टा ’नन्स्टप’ उडान गर्न सक्ने निगमले जानकारी दिएको छ ।

निगमसँग विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत लङ हल गन्तव्यमा उडान गरिसकेको अनुभव छ । त्यही अनुभव लिएर पुनः लङ हल गन्तव्य लक्ष्य गर्दै अगाडि बढेको कंसाकारको बताउँछन् । जहाजको अधिकतम उपयोग गर्ने उद्देश्यका साथ गन्तव्य समेत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्