काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.४१ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ। ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ। बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।