Logo

उच्च अदालतको फैसलापछि के हुँदैछ अनलाईन ट्रेडिङ, के भन्छन् बोर्ड र नेप्से ?

उच्च अदालतको फैसलापछि के हुँदैछ अनलाईन ट्रेडिङ, के भन्छन् बोर्ड र नेप्से ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । विचाराधिन अवस्थामा रहेको सेयर बजारको अनलाईन ट्रेडिङको विषयलाई उच्च अदालतले फैसला गरेसँगै कार्यान्वयनका लागि बाटो खुलेको छ । अदालतले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले छनोट गरेको नेपाली कम्पनीबाटै अनलाईन ट्रेडिङ सञ्चालन गर्न गराउन फैसला गरेपछि सोका लागि बाटो खुलेको हो ।

तर, अदालतले नेपाली कम्पनीलाई नै अनलाइन ट्रेडिङको जिम्मा दिन फैसला गरेपनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) र कार्यान्वयन गर्ने निकाय नेप्सेबीच मतभिन्नता देखिएको छ । अबका दिनमा नेपालको सेयर बजारमा गैर आवासीय नेपाली तथा विदेशी कम्पनीको लगानी भित्र्याउनुपर्ने भन्दै सोही अनुरुप अन्तरराष्ट्रिय मान्यता प्राप्त टेष्टेड सिस्टमको सफ्वेयर मार्फत अनलाईन ट्रेडिङ संचालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो । जसले गर्दा नेप्सेको अनलाईन ट्रेडिङ अन्यौलमा परेको थियो ।

अदालतले स्थानीय कम्पनीको पक्षमा फैसला गरेपनि नियामक निकाय बोर्डले भने आफ्नो पुरानो अडानलाई कायम नै राखेको छ । अदालतले जस्तो फैसला गरेपनि सवैले विश्वास गर्ने खालको अन्तरराष्ट्रिय सिस्टमबाटै अनलाईन ट्रेडिङ संचालनमा ल्याउनुपर्ने बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बताए । ‘नियामको चासो कुन कम्पनीको सफ्टवेयर प्रयोग गर्छन भन्ने होइन,’ उनले भने, ‘तर, हामीले दिएको मापदण्ड अनुसारको सफ्टवेयर प्रयोगमा नल्याएमा मान्य हुने छैन ।’

अनलाईन ट्रेडिङ संचालनमा आए पश्चात देश विदेशमा रहेका नेपाली तथा विदेशी लगानीकर्ताले सोही सिस्टमबाट कारोवार गर्नुपर्ने भएकाले पनि लोकल कम्पनीबाट कार्यान्वयन गर्न नमिल्ने उनको तर्क छ । ‘हामीले सवैलाई समेटेर पहिलो पटक अनलाईन ट्रेडिङ संचालनमा ल्याउन लागेकाले सोही अनुरुपको सिस्टम भित्र्याउनु जरुरी छ,’ उनले भने, ‘यदि नेप्सेले नियामकले भनेजस्तो सिस्टम नभित्र्याएमा कुनै पनि वेला अब्जरभेसन जनाउन सकिन्छ ।’

यता कार्यान्वयन गर्ने निकाय नियमनकारी निकायभन्दा पनि अदालतको फैसलालाई अक्षरस पालना गरेरअघि बढ्ने योजनामा छ । अदालतले जे फैसला गरेको छ सोही अनुरुप अनलाईन ट्रेडिङ कार्यान्वयनमा ल्याइने नेप्सेका महाप्रवन्धक सिताराम थपलियाले बताए । ‘अहिलेको कम्पनी नेपाली भएपनि यसको पार्टनर विदेशी हो,’ उनले भने, ‘तसर्थ यो कम्पनीले पनि विदेशी सफ्टवेयर नै ल्याउने प्रतिवद्धता जनाएको छ ।’ तर, नियामकले भनेजस्तो अन्तरराष्ट्रिय टेस्टेड सिस्टकको अर्थ आफुले नबुझेको उनको तर्क छ ।

थपलियाका अनुसार अहिलेको कम्पनीले पनि सफ्टवेयर संचालनमा ल्याएपछि त्यसभित्रका सवै खालका परिक्षण गर्न मिल्ने उल्लेख गरेको छ । ‘तर, टेस्टेड सिस्टम भन्दैमा अरुले पहिले नै चलाइसकेको सफ्टवेयरलाई ल्याएर चलाउने त होइन होला ?,’ उनले भने, ‘नियामक निकायले भन्न खोजेको टेस्टेड सिस्टम कस्तो हो मैले अहिलेसम्म बुझ्न सकेको छैन ।’ साथै, अदालतको फैसला आफु कहाँ नआएसम्म कहिलेसम्म अनलाईन ट्रेडिङ संचालनमा ल्याउन सकिन्छ भन्ने विषयमा समेत आफु अनभिज्ञ रहेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्