काठमाडौं । लामो समयदेखि चर्चामा रहेको प्रतिबन्धित ५ सय र १ हजारको भारतीय रुपैयाँ साटिने आशा लगभग सकिएकाे भएको छ । सन् २०१६ को अन्त्यसँगै भारत सरकारले भारु सटहीका लागि दिएको समयसीमा सकिएपछि नेपालीसँग रहेको भारतीय रुपैयाँ साटिने सम्भावना पनि टरेको हो ।
भारत सरकारले बजारमा भएका ५ सय र १ हजार रुपैयाँका भारु सटहीका लागि डिसेम्बर ३० सम्मको समयसीमा दिएको थियो । तर, सो समय सकिदा पनि सटहीका सम्बन्धमा कुनै प्रतिक्रिया नआएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘अव नेपालीसँग भारु सटही हुन्छ वा हुँदैन भन्ने विषयमा राष्ट्र बैंकले केही भन्न सक्दैन,’ उनले भने, ‘केही समययता सो सम्बन्धमा केही अपडेट सम्म भएको छैन ।’
उनका अनुसार अव राष्ट्र बैंकले भारु सटहीका लागि कुनै पहल समेत गर्न नसक्ने उनको तर्क छ । तोकिएको समयसीमा भित्र राष्ट्र बैंकले पहल गर्दा कुनै प्रतिक्रिया नआएको र अव पहल गर्नुको कुनै अर्थ नरहेको उनको तर्क छ । नेपाल सरकारले उच्च तहबाटै भारत सरकारलाई दवाव दिएका मात्र भारु साटिने सम्भावना रहेको उनले जानकारी दिए । अन्यथा नेपालीसँग रहेको भारु त्यतिकै कागजको खोस्टोमा परिणत हुनेछ ।
भारत सरकारले आफ्ना नागरिकलाई ५ सय र १ हजारको नोट बोकेर हिड्न समेत प्रतिवन्ध लगाइसकेको अवस्थामा नेपाललाई सटही सुविधा दिने सम्भावना एकदमै न्युन छ । सटही सुविधा नदिएको अवस्थामा नेपालसँग बैंकिङ तथा गैर बैंकिङ प्रणालीमा रहेको झण्डै १५ अर्ब रुपैयाँ भारु कागजमा परिणत हुने निश्चित छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु छ । तर, बैंकिङ प्रणालीभन्दा बाहिर झण्डै १५ अर्ब रुपैयाँ भारु रहेको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ । विशेषगरी व्यापारी तथा भारतीय रोजगारीमा जाने कामदारसँग त्यस्तो पैसा बढी रहेको दावी छ ।