Logo

भूकम्पको नाममा अझै छुटैछुट, अनिर्णयको मारमा जस्ता उद्योग

भूकम्पको नाममा अझै छुटैछुट, अनिर्णयको मारमा जस्ता उद्योग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले भुकम्पको नाममा जस्तापाता आयातलाई प्रोत्साहन दिँदा नेपाली उद्योगी मारमा परेका छन् । भुकम्पको समयमा नेपालमा तत्काल जस्तापाता आवश्यक भएको भन्दै आयातमा दिइएको छुट अहिलेसम्म पनि कायम नै रहँदा नेपाली उद्योगी मारमा परेका हुन् ।

सरकारले भुकम्पपछि जस्तापाता आयातमा भन्सार दरमा ५० प्रतिशत घटाउने निर्णय गरेको थियो । तर, त्यहिं व्यवस्थाले अहिलेसम्म निरन्तरता पाउँदा नेपाली जस्तापाता उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । भूकम्पपछि नेपाली उद्योगबाट उत्पादित जस्तापाताले नपुग्ने भन्दै सरकारले जस्तापाता आयातगर्दा भन्सारमा छुट दिएको थियो । त्यतिवेला नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर प्रमाणित गरेको जस्तापाता मात्र आयात गर्न दिने उल्लेख गरिएको थियो । तर, अहिले व्यापारीहरुले खुलेआम गुणस्तरहिन जस्तापाता आयात गरिरहेको सम्बद्ध उद्योगीहरु बताउँछन् ।

भुकम्प पश्चात नेपाली उद्योगीहरुले आफ्नो क्षमता विस्तार गर्दै नेपालको पुनर्निर्माणका आवश्यक जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता सरकार समक्ष पेश गरेका थिए । तर, सरकारले नेपाली उद्योगीको प्रस्तावलाई वेवास्ता गरी व्यापारीलाई खुलेआम भन्सार छुटमा गुणस्तरहिन जस्तापाता आयात गर्न दिएको व्यवसायीको आरोप छ ।

सरकारले आयातलाई प्राथमिकता दिँदा नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेको भगवती स्टिल इन्ट्रष्टीजका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल बताउँछन् । ‘सरकारले भुकम्पको नाममा तत्कालका लागि नेपाली जनतालाई राहतका लागि भन्सार दर घटाएर जस्तापाता आयात गर्न खुला गरेको थियो,’ उनले भने, ‘तर, सोही व्यवस्थालाई अहिलेसम्म पनि निरन्तरता दिँदा नेपाली उद्योगीहरु मारमा परेका छन् ।’ यदि सरकारले सो व्यवस्थालाई निरन्तरता दिने हो भने नेपाली उद्योगीहरु जस्तापाता उद्योग बन्द गरेर बस्नुको विकल्प नभएको समेत उनको तर्क छ ।

सरकारले भन्सार दर र गुणस्तर दुवैमा खुला छाड्दा नेपाली उद्योगहरु बन्द हुने अवस्थामा पुगेको राजेश मेटल क्राफ्टका संचालक राजेश अग्रवाल बताउँछन् । ‘सरकारको अव्यवहारीक नीतिका कारण व्यापारी्ले कम गुणस्तरका जस्तापाता न्युन भन्सारदरमा ल्याएर बेचिरहेका छन्,’ उनले भने, ‘यसले गुणस्तरीय जस्तापाता उत्पादन गर्ने नेपाली उद्योग धराशयी हुँदै गएका छन् भने राज्य र जनतालाई समेत ठगिएका छन् ।’

गुणस्तरहिन जस्तापाता आयातमा रोक लगाउन अर्थ मन्त्रालय, उद्योग मन्त्रालयलगायतका सरोकारवाला निकायमा पटक–पटक माग राख्दा पनि कुनै चासो नदिएको अग्रवालले जानकारी दिए । नेपालको पुनर्निर्माणलाई आवश्यक पर्ने जस्तापाता नेपाली उद्योगले नै पुर्याउन सक्ने अवस्थामा सरकारले आयातलाई प्रोत्सान दिइरहेको सम्बद्ध उद्योगीको आरोप छ ।

यता सरकारी निकाय भन्सार विभाग भने तत्कालिन समयमा गरिएको व्यवस्था हालसम्म परिमार्जन नभएकाले जस्तापाता आयातमा भन्सार छुट दिँदै आएको बताउँछ । भन्सार महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था आर्थिक वर्ष २०७२÷७३ को आर्थिक ऐनमा गरिएको अहिले पनि त्यसैलाई निरन्तरता दिँदै आयात गर्न दिइएको भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाले बताए । सो व्यवस्था एकै आर्थिक वर्षमा पटक–पटक परिवर्तन गर्न नसकिने र उद्योगीहरुले घटाउन माग गरेमा छलफल गर्न सकिने उनको तर्क छ । तर, उद्योगीहरुले भनेजस्तो गुणस्तरहिन जस्तापाता आयात गर्न नदिइएको उनको दाबी छ ।

यसैगरी हुलास स्टिलका विक्री प्रवन्धक सुनिल अधिकारी पनि नेपाली उद्योगहरु देशमा आवश्यक पर्ने जस्तापाता उत्पादनका लागि सक्षम भएको बताउँछन् । ‘सरकारले आयातित वस्तुलाई विशेष प्राथमिकता दिँदै छुट दिइरहेको छ,’ उनले भने, ‘गुणस्तरहित बस्तु आयात हुँदा नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन ।’ नेपाली उद्योगले विभिन्न मापदण्ड पुरा गरी गुणस्तरीय जस्ता उत्पादन गर्दा बढी लागत पर्ने र गुणस्तरहित आयातगर्दा सस्तोपर्न जाने हुँदा उपभोक्ता र नेपाली उद्योगी दुवै मारमा परेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्