काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी पुर्याउन एक वर्षको समयावधि थप गर्ने निर्णय गरेको छ। प्राधिकरणको गत पुस २४ गते बसेको संचलक समितिको बैठकले न्यूनतम चुक्तापुँजी पुर्याउन समस्या झेलिरहेका नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि) लाई राहत मिल्नेगरी माघ मसान्तसम्म पुर्याउनुपर्ने चुक्तापूँजीको म्याद आगामी बर्ष माघ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि चालु आर्थिक वर्षको माघ मसान्तसम्म यो प्रक्रिया पूरा गर्न निर्देशन दिइएको थियो।
पुनर्बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउने निर्णय प्राधिकरणले गत वर्ष माघमा गरेको थियो। यसका लागि दुवै कम्पनीलाई क्यापिटल प्लान प्रस्तुत गर्न भनिएको थियो। वित्तीय सबलता बढाएर पुनर्बीमा व्यापारमा जोखिम व्यवस्थापन गर्न यो आवश्यक रहेको प्राधिकरणको निष्कर्ष रहेको छ।
निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन रिको हाल चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९/८० मा ४ प्रतिशत बोनस सेयर वितरण गरेपछि यो पूँजी पुगेको हो। कम्पनीले ८० प्रतिशत हकप्रद सेयर जारी गरेर ८ अर्ब ३२ करोड रुपैयाँ पूँजी थप गर्ने तयारी गरिरहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ भने बाँकी पूँजी बोनस सेयर जारी गरेर पुर्याउने योजना बनाइएको छ। बीमा प्राधिकरणले हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति दिए पनि नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गर्ने प्रक्रिया बाँकी रहेको छ।
सरकारी स्वामित्वको नेपाल रिको हालको चुक्तापुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ छ। यो कम्पनीले आर्थिक वर्ष २०७९–८० मा ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। न्यूनतम चुक्तापुँजी पुर्याउन नेपाल रिले पनि हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ।
बीमा प्राधिकरणको निर्णयले दुवै कम्पनीलाई आफ्नो पूँजी योजना कार्यान्वयन गर्न थप समय उपलब्ध गराएको छ। जोखिम व्यवस्थापनका लागि पूँजी वृद्धि अपरिहार्य भएकाले यी कम्पनीहरुले योजनालाई कार्यान्वयन गर्न विशेष ध्यान दिनुपर्ने देखिन्छ।