काठमाडौं । यशोदा फूड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकको रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा, कम्पनीले शाहको नियुक्तिसँगै आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई अझ बलियो बनाउने योजना सार्वजनिक गरेको छ।
यशोदा फूड्सले आफूलाई नेपालकै अग्रणी खाद्य उत्पादन कम्पनीका रूपमा दाबी गर्दै, भारत, क्यानाडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापुर र न्यूजिल्यान्डलगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको जानकारी दिएको छ। कम्पनीका अनुसार, यसको वार्षिक अन्तर्राष्ट्रिय कारोबार १०० करोड रुपैयाँभन्दा माथि पुगेको छ।
कम्पनीले शाहको दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणले यशोदा फूड्सलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ। ग्लोबल कार्यकारी निर्देशकको रूपमा, शाहले नवीन योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा कम्पनीको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
यस नियुक्तिसँगै यशोदा फूड्सले नयाँ र उत्साहजनक अध्यायको सुरुवात गरेको जनाएको छ।