Logo

६ महिनामा साढे ५ हजार विद्युतीय कार आयात, ५१ देखि १०० किलोवाट क्षमताका धेरै

६ महिनामा साढे ५ हजार विद्युतीय कार आयात, ५१ देखि १०० किलोवाट क्षमताका धेरै



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन् । यी सवारीसाधनको कूल आयात मूल्य १ अर्ब ३१ करोड ८ लाख ६९ हजार रुपैयाँ रहेको छ भने सरकारले यो आयातबाट ८ करोड १६ लाख २३ हजार ९२ रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयात भएका सवारीसाधनमध्ये ५१ किलोवाटदेखि १०० किलोवाटसम्म क्षमताका सवारीसाधनको संख्या सबैभन्दा बढी छ । यस प्रकारका ३ हजार १ सय ९१ वटा गाडी पछिल्लो ६ महिनामा आयात भएका छन् । जसको कूल मूल्य ७ करोड ९६ लाख ५ हजार ११ रुपैयाँ पुगेको छ । यी सवारीसाधनबाट ५ करोड ४ लाख ५३ हजार ८३ रुपैयाँ राजस्व प्राप्त भएको छ ।

त्यस्तै, ५० किलोवाटभन्दा कम क्षमताका १ हजार ७ सय २५ वटा विद्युतीय गाडी आयात गरिएको छ । यस समूहका सवारीसाधनको कूल आयात मूल्य ३ करोड १२ लाख ४ हजार ८९ रुपैयाँ रहेको छ भने १ करोड ३५ लाख १५ हजार ५३ रुपैयाँ राजस्व संकलन भएको छ ।

१०१ किलोवाटदेखि २०० किलोवाटसम्म क्षमताका ५ सय ५३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । यी गाडीको कूल आयात मूल्य १ करोड ९५ लाख २ हजार ३ सय ७६ रुपैयाँ रहेको छ भने भन्सार राजस्वतर्फ १ करोड ६५ लाख ९ हजार ५७८ रुपैयाँ संकलन भएको छ ।

२०१ किलोवाटदेखि ३०० किलोवाटसम्म क्षमताका गाडी भने कम मात्रामा आयात भएका छन् । यस समूहका ९ वटा गाडी भित्रिएका छन्, जसको आयात मूल्य ६ लाख २१ हजार १ सय ११ रुपैयाँ छ भने ९ लाख ७ हजार ७० रुपैयाँ राजस्व संकलन भएको छ ।

३०० किलोवाटभन्दा बढी क्षमताका गाडीको आयात संख्या झनै न्यून छ। यस प्रकारका केवल २ वटा गाडी आयात भएका छन् । यी गाडीको कूल मूल्य ८ हजार ३ सय २३ रुपैयाँ रहेको छ भने भन्सार राजस्व ८ हजार ८२६ रुपैयाँ मात्रै रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट भएको भन्सार राजस्व र आयातको मूल्यले विद्युतीय सवारीसाधनप्रतिको उपभोक्ताको चासो बढ्दै गएको देखाएको छ । विशेषगरी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका सवारीसाधनलाई प्राथमिकता दिइएको देखिन्छ । यसले नेपालको विद्युतीय सवारीसाधन बजारमा सकारात्मक संकेत दिएको विश्लेषकहरूको भनाइ छ ।

नेपाल सरकारले विद्युतीय सवारीसाधनको आयातलाई प्रोत्साहन गर्न विभिन्न किसिमका भन्सार र कर छुट प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This