काठमाडौं । एप्लिकेसन सपोडेड वाइ ब्लक अमाउन्ट (आस्वा) प्रणालीमा हालसम्म ११ वटा बैंक वित्तीय संस्था आएका छन् । धितोपत्र बोर्डले २०७३ माग १ गतेदेखि साधारण सेयरमा आवेदन दिनका लागि आस्वा लागू गर्ने निर्णय गरेसँगै बौंक वित्तीय संस्था उक्त प्रणालीमा आएका हुन् ।
लगानीकर्तालाई सहज रुपमा सेयर आवेदन दिन सक्ने र सो कार्यका लागि घण्टौ लाइनमा वस्नुपर्ने वाध्यता घटाउका लागि बोर्डले आस्वा लागू गर्न लागेको हो । जुन प्रणाली अन्तरगत कुनै व्यक्तिले सेयरका लागि आवेदन दियो भने सेयर भरेको रकम वरावरको पैसा सम्बन्धित व्यक्तिकै खातामा ब्लक भएर बस्नेछ । जसका लागि आस्वा प्रणाली अन्तरगत बोर्डबाट अनुमति प्राप्त बैंक वित्तीय संस्थामा सेवाग्राहीको बैंक खाता हुनुपर्ने छ ।
आस्वा कार्यान्वयनका लागि सम्पुर्ण तयारी पुरा भएको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की बताउँछन् । ‘सम्पूर्ण प्रक्रिया पुरा गरेर नै आस्वा लागू गर्ने घोषण गरेका हौं,’ उनले भने, ‘जसका लागि ११ वटा संस्थाले स्वीकृति पाएका छन् भने अन्यले स्वीकृतिका लागि आवेदन दिने क्रम जारी छ ।’ हाल पनि अनुमतिका लागि ६ वटा संस्थाले आवेदन दिएको र उनीहरुलाई पनि केही समयभित्रै स्वीकृति दिइने बोर्डले जानकारी दिएको छ ।
हाल सिटिजन्स बैंक इण्टरनेशनल, सेञ्चुरी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक, एनवि बैंक, कुमारी बैंक, कैलाश विकास बैंक र एस डेभलपमेन्ट बैंकले आस्वाका लागि अनुमति पाएका छन् ।
आस्वामा समावेश हुन बोर्डले छुट्टै मापदण्ड समेत तयार गरेको छ । जस अनुसार बाणिज्य बैंक र विकास बैंक मात्र उक्त प्रणालीमा समावेश हुन सक्नेछन् । उक्त संस्थाको प्रतिसेयर चुक्ता पूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको, कम्तीमा ५ वर्षदेखि सञ्चालनमा रही पछिल्ला दुई वर्ष खुद नाफा कमाएको निष्कृय कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम रहेको र राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हकमा सो फुकुवा भएको तीन वर्ष भएका बैंकहरुले मात्र आस्बा सेवा प्रदान गर्न सक्नेछन् ।
यसैगरी काठमाडौं उपत्यकाभित्र कम्तीमा ४ वटा शाखा कार्यालय रहेको हुनुपर्ने छ भने बैंक तथा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा धितोपत्रको दरखास्त संकलन गर्न सक्ने व्यवस्था उल्लेख भएको हुनुपर्नेछ । साथै साधारण सेयर निष्काशन गरी सुचिकृत समेत भएको हुनु पर्नेछ । आस्वा लागू भएसँगै २० दिनमै सेयर वाँडफाँड हुनेछ ।